काठमाडौं, बैशाख ५ । भीम सार्की र कुशल मल्लको अर्धशतकसँगै नेपालले एसीसी प्रिमियर कप क्रिकेटमा मलेसियामाथि ६ विकेटको सहज जित निकालेको छ ।
आज भएको खेलमा भीम र कुशलले चौथो विकेटमा १ सय १२ रनको साझेदारी गरेपछि नेपालले २ सय ३६ रनको लक्ष्य ३६.२ ओभरमै पूरा गरेको हो ।
खेलमा भीमले ७१ रन बनाए । नेपाल विजय भन्दा ५ रनको नजिकको समयमा आउट भएका भीमले ९८ बल खेली ५ चौका प्रहार गरे ।
यस्तै कुशलले अविजित ७० रन बनाए । उनले ४० बल खेली समान ५ चौका र छक्का प्रहार गरे । दीपेन्द्रसिंह ऐरी ३ बलमा ५ रन बनाई अविजित रहे ।
नेपालको सुरुआत भने राम्रो थिएन । आसिफ शेख पहिलो ओभरमै १ रनमा आउट भए । उनलाई मोहम्मद वाफिकले कट एन्ड बोल्ड गरे । कुशल भुर्तेल र भीमले दोस्रो विकेटमा ४८ रनको साझेदारी गरे । कुशलले ३१ बलमा ५ चौका र २ छक्कासहित ३८ रन बनाए ।
कप्तान रोहित पौडेलले पनि छिटो गतिमा रन बनाए । उनले ४३ बल खेली ५ चौकासहित ४२ रन बनाए । २२ औं ओभरमा उनले क्याच दिँदा नेपालको खातामा १ सय १९ रन थियो । त्यसपछि भीमले संयमित र कुशल मल्लले आक्रामक खेल्दै नेपाललाई जीत दिलाएका हुन ।
यसअघि कप्तान अहमद फैज र विरनदीप सिंहले सतकीय साझेदारी गरेपछि मलेसियाले नेपाललाई २ सय ३६ रनको लक्ष्य दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्