दिउसो दिउसो रत्नपार्कमा माक्सवादको पण्डित्याईं छाँट्ने र राति राति लैनचौर र देउवा द्वारमा पुगेर कम्युनिष्टविरोधी मोर्चा खडा गर्ने कार्य सबभन्दा ठूलो फन्टुस्याईको प्रमाण–पत्र होइन ?
निर्मल भट्टराई
माधव मण्डलीका महासचिव स्वघोषित मुर्धन्य माक्सवादी पण्डित घनश्याम भुसालले विद्यार्थीको एक कार्यक्रममा एमालेलाई तल्लोस्तरको गाली गरेछन । एमालेकै कारण पटक–पटक सांसद र मन्त्री बनेका भुसालले एमालेलाई फन्टुसहरूको पार्टी भएको आरोप लगाएछन । ‘फन्टुस’ शब्द अंग्रेजी शब्द ‘फेन्टास्टिक’बाट अपभ्रंश हुँदै नेपाली शब्द भण्डारमा आएको हो । त्यसको अर्थ हुन्छ–काम न काजको, साँचो कुरा पनि नगर्ने, असल काम पनि नगर्ने व्यक्ति ।
आफू एमालेको उपमहासचिव हुँदा, सांसद र मन्त्री हुँदा घनश्यामजीले एमालेमात्र कामकाजी पार्टी भएको, एमालेले अङ्गिकार गरेको सिद्धान्त सही भएको, एमालेमात्र जनतामा सही कुरा र काम गर्ने पार्टी भएको, असल काम गर्ने नेता र कार्यकर्ता भएको पार्टी रहेको हजारौं पटक घोक्रो सुक्ने गरी चिच्याउनु भएको कहीं कतै छिपेको छैन । आफू फन्टुस भएर एमाले छोडेको केही महिनामै एमाले कसरी फन्टुस हुन्छ घनश्यामजी ?
केही नेताहरूको पदीय महत्वाकांक्षाको लागि शक्तिशाली एमाले चोइट्याएर समाजवादमा पुग्ने जनताको आकांक्षामाथि धावा बोलेर, एक दुई थान मन्त्री पदको लागि देशका दक्षिणपन्थी शक्तिको निरन्तर चाकडी गर्नेहरू फन्टुस हुन्छन कि जस्तोसुकै प्रतिक्रियावादी प्रहारबाट देश, जनता, पार्टी र क्रान्तिलाई जोगाएर अगाडि बढाइरहेको राष्ट्रवादी कम्युनिष्ट शक्ति फन्टुस हुन्छ ?
तपाईंजस्तो ‘मुर्धन्य माक्सवादी’लाई थाहा हुनुपर्ने हो, माक्सवादीहरू वर्गीय राजनीति गर्छन । एमालेको नीति सिद्धान्तअनुसार वर्गीय राजनीति गरिरहेका कार्यकर्ता र जनतालाई सिद्धान्तहीन वाकपटुताको माध्यमद्वारा दक्षिणपन्थी शक्तिको पोल्टामा पुर्याउने यहाँहरूको बहादुरी कस्तो किसिमको वर्गीय राजनीति हो ?
दिउसो दिउसो रत्नपार्कमा माक्सवादको पण्डित्याईं छाँट्ने र राति राति लैनचौर र देउवा द्वारमा पुगेर कम्युनिष्टविरोधी मोर्चा खडा गर्ने कार्य सबभन्दा ठूलो फन्टुस्याईको प्रमाण–पत्र होइन ? आफ्नो उर्जावान समय एमालेमा विताएका तर अहिले विभिन्न कारणले अलगथलग रहेका कम्युनिष्टहरू एमालेको छातामुनि क्रमशः समाहित हुन थालेपछि शुरू भएको तपाईंको यो बर्बराहटले तपाईं आफैंलाई एक नम्बरको फन्टुस बनाउँदैन ?
तपाईंले आफ्नो फन्टुस भाषणमा ‘ओलीवादी यदुवंशी मुसल’को पनि चर्चा गर्नुभएको छ । महाभारत युद्धमा पाण्डव र कौरवको नाश भएपछि यदुवंशीहरूको दम्भ चरमचुलीमा पुगेको थियो । उनीहरू परम्परा, मान–मर्यादा, भद्रता, नम्रता सबै भुलेर सत्ता स्वार्थमा चुर्लुम्म डुबेका थिए । एक दिन यदुवंशका केही हुल्याहा केटाहरू विश्वामित्र ऋषिको नजिक पुगे । उनीहरूले बनावटी नम्रता देखाउँदै ऋषि विश्वामित्रलाई एउटा प्रश्न सोधे । उनीहरूले जाम्बवतीनन्दन साम्बलाई स्त्रीको भेषमा सजाएर त्यहाँ लिएर गएका थिए ।
उनीहरूले सोधे– ‘हे ऋषि, यी सुन्दरी गर्भवती छिन । यिनी तपाईंसँग एउटा कुरा सोध्न लाज मान्छिन । तपाईं सर्ववेत्ता हुनुहुन्छ । अब बताउनुहोस, यिनको गर्भबाट छोरा हुन्छ कि छोरी ? ऋषि विश्वामित्र रिसाउँदै बोले– मुर्खहरू, यसले एउटा मुसल जन्माउने छ र त्यसैबाट तिमीहरूको कुलको नाश हुनेछ ।’ ऋषिले भनेबमोजिम नै त्यो नक्कली गर्भवतीबाट मुसल प्रकट भयो । त्यो मुसल राजा उग्रसेनकहाँ पुर्याइयो । घटनाको बेलीविस्तार लगाइयो । राजाले तत्कालै धुलो बनाउन लगाए र समुन्द्रमा फाल्न लगाए । समुन्द्रको किनारमा तैरिएको धुलोमा घाँस उम्रियो । केही समयपछि यदुवंशी राजपरिवार त्यही घाँसको समिप पिकनिक गए । त्यही आपसमा झगडा शुरू भयो । त्यही घाँसले हतियारको काम गर्यो र यदुवंशीको नाश भयो ।
कांग्रेसको पोल्टामा लुटपुटिएर कति टिक्नुहुन्छ ? तपाईंको भर्भराउँदी सचिव त ‘हामी खरानी भयौं’ भन्नुहुन्छ । गत चुनावमा दक्षिणपन्थी शक्तिको भगिरथ प्रयत्नका बाबजुद धुलो चाटेपछि ‘खरानी’को महासचिव भएको एक माक्सवादी फन्टुसले धेरै फुर्ती नलाएकै राम्रो

अब यहाँ प्रश्न उठ्छ– साविक नेकपामा यदुवंशी हुल्याहा केटा को–को हुन ? तत्कालीन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपतिले प्रतिगमन गर्न लागे भनेर नक्कली विषय उठाएर आफ्नै पार्टीको सरकारविरूद्ध सडकमा उत्रने ‘हुल्याहा केटाहरू’मध्ये तपाईं मुख्य होइन ? कम्युनिष्ट आन्दोलनमा हुर्किएको यदुवंशी चरित्रबाट एमाले त बच्यो नै, तपाईहरूले निर्माण गरेको टुकडीको हालतचाहिँ के छ ?
कांग्रेसको पोल्टामा लुटपुटिएर कति टिक्नुहुन्छ ? तपाईंको भर्भराउँदी सचिव त ‘हामी खरानी भयौं’ भन्नुहुन्छ । गत चुनावमा दक्षिणपन्थी शक्तिको भगिरथ प्रयत्नका बाबजुद धुलो चाटेपछि ‘खरानी’को महासचिव भएको एक माक्सवादी फन्टुसले धेरै फुर्ती नलाएकै राम्रो ।













प्रतिक्रिया दिनुहोस्