जनता टाइम्स

६ बैशाख २०८०, बुधबार १८:२७

रामप्रसाद न्यौपाने जिताउन मैदानमा उत्रिए चितवन–२ का महिला


चितवन, बैशाख ६ । यही बैशाख१० गते हुन लागेको उपनिर्वाचनमा चितवन–२ का नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले जनताको सेवक बनेर काम गर्ने अठोट गर्नुभएको छ ।

आज बिहान नारायणगढको पोखरा बसपार्कमा आयोजित कोणसभालाई सम्बोधन गर्दै न्यौपानेले यस्तो अठोट गर्नुभएको हो । ‘म निर्वाचित भएर गएपछि सांसद होइन, तपाईँहरुको सेवक बनेर काम गर्छु,’ न्यौपानेले भन्नुभयो । उहाँले आफ्नो निर्वाचन क्षेत्रमा किसान, व्यवसायी, महिला, युवा सबैका समस्या रहेका उल्लेख गर्दैसबै समस्याको समाधानका लागि सरकारलाई दबाब दिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यहाँ धेरै समस्या छन्, सबै समस्या एकपटक समाधान हुँदैनन । प्राथमिकताको आधारमा समस्या समाधानका लागि मेरो प्रयास रहन्छ ।’ अहिलेसम्म आफूले कुनै पनि गलत काम नगरेको र अबका दिनमा पनि गलत नगर्ने प्रतिबद्धता पनि उहाँले जनाउनु भयो ।

भरतपुरलाई व्यावसायिक केन्द्रको रुपमा विकास गर्दै इच्छाकामनालाई पर्यटकीय क्षेत्र तथा कालिका नगरपालिकापालिकालाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्ने आफ्नो योजना रहेको न्यौपानेको भनाइ छ । भरतपुर देशकै केन्द्रमा रहेको यहाँ स्वास्थ्य, शिक्षासँगै व्यापारको साम्रो सम्भावना भएकाले त्यसतर्फ आफ्नो ध्यान केन्द्रित हुने न्यौपानेले बताउनु भयो । चितवनको विकास निर्माणमा यहीँका युवाहरुको सहभागिता गराउने गरी आफूले योजना तयार पार्ने प्रतिवद्धता पनि जनाउनु भएको छ ।

सुन्दर चितवन, समृद्ध चितवन बनाउन महिला शक्तिको महत्वपूर्ण भूमिका हुने भन्दै आफूहरुले महिलाको सम्मान गर्दै आएको न्यौपानेले बताउनु भयो । ‘नारी शक्तिका विरुद्ध अनर्गल प्रचार गर्ने र तथानाम गाली गर्ने प्रवृत्तिलाई हामी सहन गर्न सक्दैनौँ, त्यस्तो गर्नु भनेको समग्र नारीको अपमान गर्नु हो,’ न्यौपानेले भन्नुभयो ।

अखिल नेपाल महिला संघ (अनेमसंघ) चुनाव प्रचार–प्रसार समिति चितवनले आयोजना गरेको कोणसभालाई सम्बोधन गर्दै पूर्वमन्त्री एवं नेकपा एमालेकी सचिव पद्मा अर्यालले महिलाहरुलाई माथि उठाउने सम्मान गर्ने एकमात्रै पार्टी नेकपा एमाले भएको बताउनु भयो । ‘महिलालाई नेतृत्व दिनुपर्छ भनेर बहस र पैरवी गर्दै बोलेको कुरा प्रमाणित गरेर देखाउने पार्टी एमाले हो,’ अर्यालले भन्नुभयो, ‘महिला राष्ट्रपति, महिलानै पार्टीको जिल्ला अध्यक्ष बनाउने पार्टी पनि एमाले नै हो, त्यसैले हामी बोल्नेमात्रै होइन, गरेर देखाउँछौँ ।’ एमाले सपना बाँड्ने पार्टी नभएको भन्दै उहाँले बोलेका कुराहरु पूरा गर्ने बताउनु भयो ।

महिलालाई माया गर्ने र महिलाको पक्षमा बोल्ने तथा कानून बनाउने पार्टी एमाले भएको अर्यालको भनाई थियो । ‘नारी शक्ति प्रदर्शन गर्न ¥याली गर्नु राम्रो हो, महिलाले चाह्यो भने सकारात्मक रिजल्ट दिन सक्छन,’ अर्यालले भन्नुभयो, ‘यसपटक युवा तथा चितवनकै माटोमा भिजेका रामप्रसाद न्यौपानेलाई सूर्यमा भोट हालेर जिताएर पठाउन महिला दिदीबहिनीहरुसँग आग्रह गर्न चाहन्छु ।’ कोणसभा अघि अनेमसंघले नारायणगढको लायन्स चोकबाट वृहत र्याली निकालेको थियो ।

महिलाहरुको अगुवाईमा निस्किएको र्याली पुलचोक, मेनरोड, लिलाचोक हुँदै पोखरा बसपार्कमा पुगेर सभामा परिणत भएको थियो । सभाको अध्यक्षता नेकपा एमालेकी केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य शिवकुमारी गोतामेले गर्नुभएको थियो ।