धरान, बैशाख ८ । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ्गलाई वडाअध्यक्षहरूले कडा चुनौती दिएका छन ।
मेयर साम्पाङ्गले वडाध्यक्षहरूको राजीनामा मागेपछि उनीहरु पनि प्रतिकारमा उत्रिएका हुन । मेयर साम्पाङ्गले विज्ञप्ति निकालेर वडाअध्यक्षहरूलाई असक्षम घोषणा गर्दै राजीनामा मागेपछि वडाअध्यक्षहरूले पनि मेयर साम्पाङ्गको एक वर्षे कार्यकाल पूर्णरूपमा असफल भएको भन्दै असक्षम घोषणा गरेका छन ।
वडाअध्यक्षहरूले आज पत्रकार सम्मेलन गरी मेयर साम्पाङ्गलाई राजीनामा गरेर पुनः चुनाव लड्न चुनौती दिए । एक वर्षसम्म मेयरको पेलान सहेको भन्दै उनीहरुले अब चुप नबस्ने घोषणा गरेका हुन । वडाध्यक्षहरूले आफूहरूले विधि र प्रक्रियाको कुरा गरेको तर मेयर साम्पाङ्गले प्रक्रियाभन्दा बाहिर गएर धाकधम्की दिएको बताए ।
पत्रकार सम्मेलनमा धरान– ६ बाट स्वतन्त्र रूपमा निर्वाचित वडाध्यक्ष भूपेन्द्र भट्टराईले साम्पाङलाई नगर प्रमुख पदबाट राजीनामा दिएर आफ्नो वडामा अध्यक्ष जितेर देखाउन चुनौती दिनुभयो । भट्टराईले मेयर साम्पाङले आफूलाई खोला बेचुवा भनेर चिनाउन खोजेको आरोप लगाउँदै कडा प्रतिवाद पनि गर्नुभयो । ‘आफनै स्रोत साधन प्रयोग गरौँ खोलाको उचित सदुपयोग गरौँ खोला ठेक्का होइन, स्रोत परिचालन गरी बाटोघाटो र विकास कार्य गरौँ भन्दा खोला बेच्न खोजेको हुन्छ ? के खोला मेयरको ठेक्का हो ?’ उहाँको प्रश्न थियो ।
भट्टराईले वडाको उन्नति र विकासका लागि आफू हरपल प्रयत्न गर्दै मेयरसँग झुकेको तर त्यसको गलत अर्थ लगाएको भन्दै आपत्ति जनाउनु भयो । यस्तै वडा नम्बर १७ का अध्यक्ष सूर्यबहादुर भट्टराईले उपमहानगरपालिकाको विवाद मेयर हर्क साम्पाङसँग वडाध्यक्षहरूको व्यक्तिगत नभई विधि, प्रक्रिया, पद्धति, विभेद र न्यायको लडाइँ भएको बताउनु भयो । वडाध्यक्षहरूलाई राजीनामामा माग्ने मेयरले आफैँ राजीनामा दिएर चुनावमा भिड्न समेत उहाँले चुनौती दिनुभयो ।
उहाँले धरानलाई समृद्ध बनाउन कार्यपालिकालाई एकताबद्ध बनाएर अघि बढाउने दायित्व र भूमिका नेतृत्वमा बसेको मेयरको भएको तर उहाँमा यस्तो क्षमता नै नरहेको बताउनुभयो । मिलेर, मिलाएर जाऊँ भन्दै अगाडि बढेको तर अबको लडाइँ अब वारपारको बनेको उहाँकोभनाई छ ।
मेयर साम्पाङले बोलाएको बैठकमा धरानको विकासको एजेन्डा नहुने भन्दै वडाध्यक्षहरू बैठकमा नजाँदा विकास प्रभावित नभएको बताए । ‘फेसबुकमा लाइक र कमेन्टले धरान चल्दैन । धरान बनाउन स्थानीय शासन सञ्चालन ऐन नियम अनुसार अघि बढ्नुपर्छ उनले बताए । हाम्रो ५ वटा माग पूरा नभए कानूनी प्रक्रियामा जान्छौं,’ भट्टराईले भन्नुभयो ।
यस्तै वडा नम्बर १८ का अध्यक्ष प्रवीण राईले कार्यपालिका बैठक सुचारु गर्न मेयर आफैँ नलागेको बताउनु भयो ।
‘सहजीकरणको लागि समीक्षा गरौं भनेका थियौं, तर उहाँ आफैँ मान्नु भएन’, राईले भन्नुभयो ।
सामाजिक सञ्जालमा वडा अध्यक्षहरूलाई ‘गुइँठे’ भन्दै अपमान गर्ने र अस्तित्वमाथि नै धावा बोल्ने अधिकार मेयर साम्पाङलाई नभएको पनि राईले बताउनु भयो ।
‘क्रियाको प्रतिक्रिया हुन्छ, मेयर धकुले (धक्कुमात्र लाउने काम नगर्ने) उपनामले चिनिएका छन,’ उहाँले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्