जनता टाइम्स

८ बैशाख २०८०, शुक्रबार १८:५१

निजामति कर्मचारी संगठनको स्थापना दिवसमा भित्तेपात्रो बिमोचन


बुटवल, बैशाख ८ । नेपाल निजामति कर्मचारी संगठनको ३३ औं स्थापना दिवसको अवसरमा पारेर बुटवलमा २०८० सालको भित्तेपात्रो विमोचन एवं शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ ।

संगठनका जिल्ला अध्यक्ष प्रेमप्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेशका इन्चार्ज छविलाल विश्वकर्माले जनताले अनुभुत हुनेगरी सहज सेवा प्रवाह गर्न कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।

उहाँले संघीयता कार्यान्वयनसँगै अधिकार र सेवा विकेन्द्रित भएको अवस्थामा नागरिकले पाउने सेवालाई थप प्रभावकारी बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताउनु भयो । लामो इतिहास भएको नेपाल निजामति कर्मचारी संगठनमा आवद्ध कर्मचारीहरुको देशका हरेक परिवर्तनमा महत्वपूर्ण भूमिका रहेको पनि विश्वकर्माले बताउनु भयो ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले कर्मचारीहरुले नागरिक सेवालाई थप सहज र प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए । संगठनका केन्द्रीय सदस्यहरु दिपक शर्मा पौडेल, काशिराम आचार्य, नारायण प्रसाद भण्डारी लगायतले देश संघीयतामा गईसकेको करिब एक दशक पुग्नै लाग्दासमेत प्रशासनिक संघीयता कार्यान्वयन गर्ने संघीय निजामती सेवा ऐन जारी नहुँदा कर्मचारीहरुले बदलिदो परिस्थितिमा कहाँ पुग्ने र कसरी काम गर्ने भन्ने विषयमा अन्यौलता सिर्जना भएको भन्दै पेशागत अधिकारका लागि पनि एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै पेशागत महासंघ नेपालका केन्द्रीय सदस्य रमेश प्रसाद पाण्डेले अहिलेसम्मका आन्दोलन र त्यसबाट प्राप्त उपलब्धिको रक्षा गर्न कर्मचारीलगायत सबै एकजुट हुनुपर्ने बताउनु भयो । कर्मचारीका पेशागत सुरक्षाका विषयमा देखिएका अन्यौलता हटाउने गरी कानुन निर्माण गर्ने उल्लेख गर्दै उहाँले आवश्यक सुझावका लागि सबै कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।

नेकपा एमालेका रुपन्देहीसदस्य मेघदेव पन्त, आधिकारीक ट्रेड युनियन रुपन्देहीका अध्यक्ष हरिप्रसाद खनाल, नेपाल निजामती कर्मचारी संगठन लुम्विनी प्रदेशका महासचिव नेत्रप्रसाद आचार्य, स्जिल्ला उपाध्यक्ष ठानेश्वर बस्याल, सचिव जीवन पौडेल, स्वास्थ्यकर्मी महासंघ रुपन्देहीका अध्यक्ष रामेश्वर ढकाल राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शालिकराम पाण्डे लगायतले मन्तव्य राख्नुभएको थियो ।

आफ्नो स्थापना दिवसको अवसरमा नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति रुपन्देहीले प्रकाशन गरेको २०८० सालको भित्तपात्रो विमोचन गर्नुका साथै शुभकामना आदान प्रदान समेत गरिएको संगठनका अध्यक्ष प्रेम प्रसाद खनालले बताउनु भयो ।