जनता टाइम्स

९ बैशाख २०८०, शनिबार ०६:४४

उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा : नतिजा तीन दिनभित्र सार्वजनिक हुने


काठमाडौं,९ बैशाख । बैशाख १० गते हुने उपनिर्वाचनको मतपरिणाम ३ दिनभित्र सार्वजनिक गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताउनुभएको छ । तनहुँ १, चितवन २ र बारा २ मा उपनिर्वाचन हुँदैछ। उक्त निर्वाचनको सबै तयारीमा सघाउन जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीसँग समन्वय भइसकेको छ।

‘हामी १३ गतेभित्र तिनै क्षेत्रको मतगणना सकेर नतिजा सार्वजनिक गर्छौं,’ थपलियाले भन्नुभयो ‘१० गते बेलुका ८ बजेभित्र सबै ठाउँको मतपेटिका मतगणना स्थल पुर्‍याउछौं र ढिलोमा ९ बजेदेखी गणना सुरु गर्छौं।’ चुनावमा खटिएका कर्मचारीलाई कुनै अप्रिय घटना हुन नदिनेगरी सचेत रहन निर्देशन दिइएको समेत उहाले बताउनुभयो । प्रहरीलाई ब्याकफोर्समा राखेर काम गर्ने भएकोले चुनाव शान्तिपूर्ण हुने उहाँको भनाई छ।

‘हामीले राजमार्गमा चल्ने सवारी साधनलाई पनि चेक गरेर मात्र गन्तव्यमा पठाउँछौँ,’ निर्वाचन आयुक्त थपलियाले थपे, ‘मतदातालाई ढुक्क भएर मतदान गर्न कुनै समस्या पर्ने छैन। यसअघि निर्वाचनमा अन्तिम परिणाम आउन कम्तीमा ६ देखि ७ दिन लाग्ने गरेको थियो। उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताउँदै थपलियाले नतिजा पनि ३ दिनभित्रै आइसक्ने दाबी गर्नुभयो ।