जनता टाइम्स

११ बैशाख २०८०, सोमबार १३:१३

वर्षाले साउदीसँगको खेल रद्द भएपछि सेमिफाइनलमा पुग्यो नेपाल


काठमाडौं, बैशाख ११ । नेपाल र साउदी अरेबियाबीच एसीसी प्रिमियर कप क्रिकेटको आज हुने खेल वर्षाका कारण रद्द भएको छ । मूलपानी क्रिकेट मैदानमा नेपालले खेल्न लागेको पहिलो अन्तर्राष्ट्रिय खेल निरन्तर वर्षाका कारण रद्द भएपछि नेपाल सेमिफाइनल पुगेको छ ।

अघिल्लो दिनको साँझ वर्षाका कारण मैदान भिजेको कारण दुई घन्टा ढिलो खेल सुरु हुने तय गरिएको थियो । बिहान ११ बजे देखि पुनः वर्षा भएपछि खेल रद्द हुन पुगेको थियो । दिउँसो १२.३० बजे दुवै टोलीका खेलाडीले हात मिलाउँदै अंक बाँडेका थिए ।

मूलपानीमा दिनभरी नै वर्षा हुने मौसम पूर्वानुमान छ । बिहान मूलपानी आएपछि नेपाल र साउदी अरेबियाका दुवै खेलाडीले मैदान निरीक्षण गरेका थिए । वर्षा पुनः सुरु भएपछि दुवै टोली पेभेलियन भित्र बसेका थिए ।

दिउँसो २.१५ बजेपछि पनि खेल हुने सम्भावना नरहेमा खेल नहुने आधिकारिक घोषणा गरिने समय राखिएको थियो । खेल हुने कुनै सम्भावना नै नरहेपछि म्याच रेफ्री सिंगापुरका सारिका प्रसादले त्यसको झन्डै २ घन्टा अघि नै खेल रद्द भएको घोषणा गरेका थिए ।

दुई ठूला प्रतिद्वन्द्वी मलेसिया र ओमानमाथि विजय हात पारेको नेपाल सोमबारको नतिजापछि समूह ‘ए’ मा ५ अंक पुगेको छ । साउदी र ओमानबीचको लिगको अन्तिम खेल क्वार्टरफाइनल सरह हुने भएको छ र जो जितेमा उही सेमिफाइनल पुग्ने छ । साउदीको ३ अंक र ओमानको ४ अंक छ । नेपालले अन्तिम खेल कतारसँग खेल्ने छ ।