जनता टाइम्स

१२ बैशाख २०८०, मंगलवार ०८:४५

त्रिभुवन विमानस्थलको धावनमार्गमा मरेको चरा भेटियो, फ्लाई दुबईको जहाजमा ठोक्किको आशंका


काठमाडौं, बैशाख १२ । त्रिभुवन विमानस्थलको धावनमार्गमा मरेको चरा भेटिएको छ । त्रिभुवन विमानस्थल खुल्नुअघि धावनमार्गको नियमित जाँच गर्ने क्रममा आज बिहान मरेको चरा भेटिएको हो ।

सोमबार राति फ्लाई दुबईको जहाजमा उक्त चरा ठोक्किएर आगो लागेको हुन सक्ने विमानस्थलका अधिकारीहरूले आशंका गरेका छन । नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार धावनमार्गमा भेटिएको चरा भँगेरा भन्दा केही ठूलो आकारको रहेको छ । तर कुन प्रजातिको चरा हो भन्ने एकिन नभसकेको छैन ।

सोमबार राति पनि धावनमार्ग जाँच गर्दा कोटेश्वरतर्फको धावनमार्गको किनारमा एउटा मरेको भँगेरा भेटिएको थियो । तर मरेको भँगेरा क्षतविक्षत नभएको अवस्थामा भेटिएको हुँदा जहाजमै ठोकिएको एकिन नभएकाले विमान उड्दा हुने ’जेट ब्लास्ट’ (जहाज उड्दा वा अवतरण हुँदा जेट इन्जिनले उत्पन्न गराउने हावाको तीव्र वेग) ले मरेको हुन सक्ने आशंका गरिएको थियो ।

त्रिभुवन विमानस्थल एटीसीले फ्लाई दुबईको जहाज काठमाडौं बाहिर नेपाली आकाशमै रहेका बेला मरेको भँगेरा भेटिएको भन्दै त्यसबारे पाइलटलाई जानकारी गराएको थियो । उक्त जहाजको इन्जिनमा चरा ठोक्किएरै आगलागी भएको हो वा होइन भन्ने दुबईको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेपछि मात्रै थाहा हुने बिमानस्थलका अधिकारीहरुले जनाएका छन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट १ सय ६८ यात्रु बोकेर सोमबार राति फ्लाई दुबईको जहाज कोटेश्वरतर्फबाट उड्दै गर्दा कोटेश्वरको आकाशमा विस्फोटको आवाजसँगै इन्जिनमा आगोको लप्का देखिएको थियो । एफजेट–५७६ उडान नम्बरको जहाजका पाइलटले काठमाडौं विमानस्थलको टावरलाई ‘आफ्नो जहाजको बायाँ इन्जिनमा आगलागी भएको’ जानकारी दिएका थिए  ।

उनीहरूले टावरका एटीसीलाई जहाज एउटा इन्जिनको भरमा उचाइमा चढिरहेको तर आकस्मिक अवतरण गर्न काठमाडौंमै फर्किने बताए पनि पछि उक्त जहाज दुबई नै गयो ।

नेपाली समय अनुसार राति दुई बजे (स्थानीय समय अनुसार १२ बजेर ११ मिनेटमा) उक्त जहाजले दुबईमा सफल अवतरण गरेको छ ।
सोमबार राति नै फ्लाई दुबईले दुबईबाट ‘चरासँग जहाज ठोकिएको’ जनाएको थियो  ।