जनता टाइम्स

१५ बैशाख २०८०, शुक्रबार १२:११

कतैबाट पद नपाउने भएपछि राजनीतिबाट सन्न्यास लिदै माधव नेपाल


काठमाडौं, १५ बैशाख । नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिबाट सन्न्यास लिने संकेत गर्नुभएको छ। जनकपुरधाममा शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा उहाले राजनीतिबाट सन्न्यास लिने संकेत गर्नुभएको हो ।‘पार्टीको अब हुने अधिवेशनबाट म पनि सन्न्यास लिने सोच्दै छु’, पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो , ‘पार्टीमा युवाहरूलाई अवसर दिनुपर्छ, ७० वर्ष कटेका नेताहरूलाई समेत आफ्ना दलबाट सन्न्यास लिन आग्रह गर्दछु।’

राजनीतिमा पनि पुस्तान्तरण गरिए मात्रै देशका लागि भलो हुने उहाँले बताउनुभयो। पूर्वप्रधानमन्त्री नेपालले उपनिर्वाचनले ठूला र पुराना राजनीतिक दललाई सच्चिन सन्देश दिएको बताउनुभयो ।उहाँले भन्नुयभो ‘उपनिर्वाचनको परिणामले ठूला दलहरूकालागि शुभ संकेत होइन, अब पनि नसच्चिए ती दलहरूकालागि आउने दिन सहज हुनेवाला छैन।’ उनले राजनीतिमा गुण्डातन्त्र हावी हुँदै गइरहेकाले राजनीतिक दलका नेताहरूप्रति प्रश्न खडा भएको बताउनुभयो।

‘वडा तहका नेतादेखि केन्द्रीय तहसम्मका नेताले पद र पैसाको दुरुपयोग गरिरहेका छन्’, नेपालले भन्नुभयो ‘यसमा सुधार नगरिए राजनीतिक दलमाथि जनताको विश्वास गुम्नेछ।’