काठमाडौं, १८ वैशाख । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कम्बोडियाका समकक्षी सिनेटका अध्यक्ष समदेक विभोलेस्ना फेकदेक चे सुमसँग भेटघाट गर्नुभएको छ ।
सोमवार दिउँसो सिनेट कार्यालय रातोघरमा भएको भेटमा अध्यक्ष तिमिल्सिनाले दुई देशबीचको पाँच दशक लामो दौत्य सम्बन्धको चर्चा गर्दै कम्बोडिया र नेपालले संयुक्त राष्ट्रसंघ, आईपीयूलगायतका निकायमा हुने प्रतिनिधित्व र मुद्दामा समेत सहयोग र सहकार्य भइरहेको उल्लेख गर्नुभयो ।
उहाँले पछिल्लो समय कम्बोडियाले गरेको शान्ति, विकास र प्रगतिका लागि बधाई दिँदै नेपालले समेत सिको गर्नुपर्ने बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले ९७ प्रतिशत बौद्धमार्गी रहेको कम्बोडिया र बुद्धजन्मस्थल लुम्बिनीलाई एकापसमा जोड्नका लागि नेपाल कम्बोडिया सिधा हवाई सेवा सुरू हुने आशा समेत व्यक्त गर्नुभयो ।
साथै उहाँले व्यापार र पारवहनका क्षेत्रमा भएका विगतका सम्झौताको प्रभावकारी कार्यान्वयनमा समेत जोड दिनुभयो । कम्बोडियन सिनेटका अध्यक्ष सुमले सन् १९६२ बाट सुरू भएको सम्बन्ध विभिन्न समयमा फरक फरक रूपमा प्रस्तुत भएको उल्लेख गर्दै दुई देशबीचको साझा हितका विषयमा सहकार्य गरेर अगाडि बढ्ने समेत प्रतिवद्धता जनाउनुभयो ।
त्यसअघि अध्यक्ष तिमल्सिनालाई नोम्पेह अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतपछि उहाँको सम्मानमा कम्बोडियाको तल्लो सदन नेसनल एसेम्बलीका प्रथम उपाध्यक्ष केत्तिसेथाबिन्दित चिम येपले दिवाभोजको आयोजना गर्नुभएको थियो । त्यसअवसरमा दुई पक्षीय हित र अनुभव आदानप्रदानका विषयमा छलफल समेत भएको थियो ।
सोमबार नै एसियाली सांस्कृतिक परिषद्का अध्यक्षले अतिथिहरूको सम्मानमा रात्रीभोजमा अध्यक्ष तिमिल्सिना सहभागी हुने र मंगलबार कम्बोडियाको राजधानी नोम्पेहमा आयोजना हुने कम्बोडियाका प्रधानमन्त्रीलाई मानार्थ विद्यावारिधी तथा वर्ल्ड फेलोसिप अफ बुद्धिष्टको संरक्षक (प्याट्रोन)को उपाधि प्रदान गर्ने कार्यक्रममा सहभागी भई बधाई समेत दिने कार्यक्रम रहेको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्