काठमाडौं, २७ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान निष्पक्ष र दबाबरहित भएर गर्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथिको छलफलमा भाग लिँदै उनले भुटानी शरणार्थी प्रकरणको अनुसन्धान कुनै पनि भेटघाट र बजारको हल्ला पनि प्रभावित नहोस् भन्नुभएको छ ।
दोषी जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा आउनुपर्ने र ल्याउनुपर्ने बताउँदै उहाँले भन्नुभयो, ‘बजारको हल्लाले अनुसन्धान प्रभावित नहोस् । र कुनै पनि भेटघाट पनि प्रभावित नहोस् । कुनै पनि दबाब र प्रभावले प्रभावित नहोस् ।’
अनुसन्धान फ्रि र फियर हुनुपर्ने र कुनै पनि दोषी छुट्न नहुने र निर्दोष पर्न नहुने बताउँदै थापाले भन्नुभयो, ‘निर्दोष कोही पनि नपरोस् । तर, दोषी छ भने नेता होस् कि नाता होस्, एउटा पनि नछोडोस् । यो प्रकरणमा सरकारले दह्रो खुट्टा टेक्यो भने सुशासनको नारा लगाउन सक्छ । तपाइँको फिल्म हाउस फुल हुन्छ । नत्र हल खाली हुन्छ ।’ नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गरिरहेको कामप्रति उहाँले धन्यवाद पनि दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्