जनता टाइम्स

१ जेष्ठ २०८०, सोमबार १८:०९

सांसद सुनिता बरालको प्रस्ताव : राजनीतिक व्यक्तिको जीवनशैली सम्बन्धी कानुन बनाऔं


काठमाडौं, जेठ १ । नेकपा एमालेकी केन्द्रीय सदस्य एवं सांसद सुनिता बरालले राजनीतिक व्यक्तिहरुले राजनीतिलाई बदनाम गराएको भन्दै स्पष्ट मापदण्ड बनाउन प्रस्ताव गर्नुभएको छ ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद बरालले राजनीतिक व्यक्तिले कस्तो जीवनशैली अपनाउने भन्ने सम्बन्धमा कानुन बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘राजनीतिक व्यवस्था नै बदनाम हुने अवस्थालाई जोगाउनका लागि राजनीतिक व्यक्तिहरुको जीवनशैलीसम्बन्धी कानुन बनाउन आवश्यक देखिएको छ, यो कानुन बनाउने कुरामा यो सम्मानित सदनलाई विशेष ध्यानाकर्षण गराइयोस् भन्ने कुरा माग गर्न चाहान्छु ।’

पछिल्लो समयका घटनाक्रमले लोकतन्त्रका लागि लड्ने राजनीतिप्रति जनतामा घृणा उत्पन्न भएको भन्दै सांसद् बरालले भ्रष्ट्राचारका अनेक छिद्र बनेका कानुन संशोधन गर्न पनि माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सदाचार सस्कृति लोकतन्त्रको प्राण हो, आज भोलिको घटनाका सन्दर्भ हेर्दा लोकतन्त्रका लागि लड्ने राजनीतिप्रति जनतामा घृणा उत्पन्न भएको छ, इमान्दार, क्षमतावानहरु व्यक्तिहरु विस्तापित हुने अवस्था छ, तसर्थ भ्रष्ट्रचारका अनेक छिद्र बनेका कानुन संशोधन गरियोस् ।’