धनगढी, ६ वैशाख । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरूलाई सहभागी गराएर शाहले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । नेपाली कांग्रेसबाट बझाङका पृथ्वीबहादुर सिंह आन्तरिक मामिला तथा कानुन मन्त्री बन्नुभएको छ । आज बसेको कांग्रेसको सुदूरपश्चिम संसदीय दलको बैठकले सिंहलाई मन्त्री बनाउने निर्णय गरेको थियो ।
माओवादी केन्द्रबाट झपट साउद र रमेश धामी मन्त्री बनेका छन् भने गीतादेवी माल राज्यन्त्री बन्नुभएको छ । साउद सामाजिक विकास मन्त्री र धामी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बन्नुभएको छ । गीतादेवी माल उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बन्नुभएको छ ।
२०७९ को माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका शाहले नेपाली कांग्रेसका भोलिपल्टै कांग्रेसका प्रकाशबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका नरेश शाहीलाई मन्त्री नियुक्त गर्नुभएको थियो । देउवाले भौतिक पूर्वाधार र शाहीले आर्थिक मामिला मन्त्रालयको जिम्मा पाउनुभएको छ । त्यसपछि मन्त्रिपरिषद विस्तार हुन सकेको थिएन । सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने दल नागरिक उन्मुक्ति पार्टीले भने मन्त्रीका लागि नाम दिएको छैन । उक्त पार्टीका प्रवक्ता दामोदर पण्डितले आफूहरूले दुई वटा मन्त्रालय पाउनु पर्ने माग गर्दै आउनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्