जनता टाइम्स

१० असार २०८०, आईतवार २१:३२

एमाले ठानेर खाँबो चिथोर्दै माधव नेपाल


बरु पश्चताप भएको हो भने नेपाली जनता समक्ष सार्वजनिकरूपमा माफ माग्नुहोस् र राजनीतिबाट विश्राम लिनुहोस् । यत्ति काम गर्नुभयो भने पनि नेपालको कम्युनिष्ट आन्दोलनमा तपाइको कुकर्मले पुर्याएको क्षतिको भरण त हुँदैन तर, तपाईको आत्माले शान्ति पाउनेछ ।

यसिमा महत/काठमाडौं । नेपालको कम्युनिष्ट आन्दोलनप्रति गद्दारी गर्दै सुतिरहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई हावा भर्न जानुभएका माधव नेपालको दृष्टि र मस्तिष्कले राम्रो काम गर्न छोडेको भान हुन थालेको छ, त्यसैले उहाँ एमाले ठानेर खाँबो चिर्थोन थाल्नुभएको छ । हिजोआज उहाँ दिउसै सपना देख्न थाल्नु भएको छ, एमाले र काँग्रेस मिलेर सरकार बनाउँदा आफूहरूको हरिविजोग भएको । त्यसैले उहाँ अचेल हरेक कार्यक्रममा भन्नुहुन्छ –‘एमालेको समर्थनमा काँग्रेसले सरकार बनाउने भन्ने कुरा तपाइहरूले पनि सुन्नुभएको होला !’

उहाँ एमालेप्रति दारा किट्दै, मुठ्ठी कस्दै बर्बराउन थाल्नुभएको छ, नत्र आफूले गरेको कर्तुत विर्सदै ‘एमाले सरकारमा सहभागि नभएरै काँग्रेसलाई एकलौटी सरकार बनाउन दिने रे ! थाहा पाउनु भएको होला नि एमाले कस्तो कम्युनिष्ट हो भनेर ? कम्युनिष्ट सरकार (प्रचण्ड सरकार) लाई ढालेर पुँजिवादी सरकार बनाउन सहयोग गर्ने एमाले कसरी कम्युनिष्ट हुनसक्छ ?’ माधव नेपालको मुखारविन्दबाट यस्तो कुरा आउनु भनेको एमाले ठानेर उहाँ खाँबो चिथोर्न थाल्नु भएको प्रमाणित हुँदैन र ?

आफूले दुई वर्षअघि जे-जे गर्नुभयो त्यो आफ्नै भनाइले गलत प्रमाणित गर्छ र आफै मुर्ख होइन्छ भन्ने कुरा उहाँ जत्तिको नेतालाई थाहा हुनुपर्ने हो । होइन भने आफै वरिष्ठ नेता भएको पार्टीको झण्डै दुईतिहाइको एकलौटी सरकार ढाल्न काँग्रेस नेता शेरबहादुर देउवालाई विन्तीभाउ गरेको विर्सनु हुन्थेन होला । देउवाले नपत्याएर दुई/तीन पटक फर्काउदा पनि विश्वास दिलाउन हस्ताक्षर बुझाउने, एमाले र ओलीको शेखी झार्न काँग्रेसअघि लाएर कम्युनिष्ट सरकार ढाली पाउँ भन्दै अदालतमा उजुरी हाल्ने कु-कर्म गरेको यति चाँडै विर्सनु हुन्थेन होला !

काँग्रेसको पाऊ मुनी बसेर, उसले निगाहाले दिएको दुई/तीन थान मन्त्रालय लिएर ओलीलाई सत्ताच्युत गरेकामा रमाएको सद्दे मानिसले कसरी विर्सन सक्छ । उपरोक्त अभिव्यक्तिले उहाँलाई राति निद्रा लाग्न छाडेको सहज अनुमान गर्न सकिन्छ । एमालेलाई टक्कर दिन बनाएको कथित ‘समाजवादी मोर्चा’ पछि कार्यकर्तामा पहिरो जान बन्द नभएको मात्र होइन पार्टीभित्र असन्तुष्टि बढ्दै गएपछि उहाँको मस्तिष्क विचलित भएको हुन सक्छ ।

होइन भने एमालेका केही नेताले व्यक्तिगत अभिव्यक्ति दिएको कुरामा उहाँ जत्तिको मान्छे यसरीआत्तिनु पर्ने आवश्यक थिएन । उहाँले बुझ्नु भएको एउटा कुरा भने साँचो हो, त्यो के हो भने समाजवादी मोर्चाले एमालेको एउटा रौं पनि हल्लाउन सक्दैन । अहिलेको कथित समाजवादी मोर्चासंग काँग्रेससमेत मिलेर आउँदा पनि एमाले एक्लै भिडेर लोकप्रियतामा एक नम्वर पार्टी बनेको स्थितिमा अहिलेको गठबन्धनभित्र अर्को बठवन्धन बनेर विभाजित हुनु एमालेका लागि सुखद् अवस्था हो भन्ने उहाँको बुझाई सत्य हो ।

गठबन्धन बनाएर चुनाव लड्दा पनि आफैले संविधान बनाउँदा राखेको तीन प्रतिशतको थ्रेसहोल्ड कटाउन नसक्नु, एमाले छदाँ राष्ट्रिय राजनीतिको नेतृत्वदायी सिटमा बसेको मान्छे अहिले कर्नरमा पर्नु, हुँदा–हुँदा आफैले आफैप्रति गद्दारी गरेर बनाएको गठबन्धनका नेताले पनि पत्याउन छाड्नु, हरेक राष्ट्रिय महत्वमा विषयमा तीन शिर्ष नेता (ओली, प्रचण्ड र देउवा) बसेर छलफल गर्नु, उहाँको कुनै सोधिपुछारी नहुनुले मन आत्तिएको, हिनताबोध हुनु स्वभाविक हो । यदि अन्य कुनै शारीरिक वा मानसिक समस्या होइन भने भूपू एमालेका वरिठ नेता कमरेड नेपाललाई विनम्रतापूर्वक सुझाव दिन चाहन्छु, यसरी एमाले ठानेर खाँबो चिथोर्दा आफ्नै नङ्ग्रा खिइन्छ, औंलामा क्षति हुन सक्छ । आकासतिर पनि नथुक्नुहोस् किनभने छिटा आफ्नै अनुहार फर्केर आउँछन्, आफ्नै अनुहार फोहोर हुन्छ ।

बरु पश्चताप भएको हो भने नेपाली जनता समक्ष सार्वजनिकरूपमा माफ माग्नुहोस् र राजनीतिबाट विश्राम लिनुहोस् । यत्ति काम गर्नुभयो भने पनि नेपालको कम्युनिष्ट आन्दोलनमा तपाइको कुकर्मले पुर्याएको क्षतिको भरण त हुँदैन तर, तपाईको आत्माले शान्ति पाउनेछ । यत्ति गर्नुभयो भने पार्टीभित्र जति झगडा गरे पनि पार्टी नै फुटाउने कुरा भविष्यमा कसैले सोच्न सक्दैन । होइन भने हामीले त उहिले भीरबाट लड्नुभयो भनेर राम–राम भनिसकेकै हौं तर पनि आफ्नो भूपू नेता प्रचण्डपथको भरिया बनेको देख्दा मन चसक्क हुने नै रहेछ ।