जनता टाइम्स

१४ असार २०८०, बिहीबार ०९:४८

७२ औं मदन जयन्तीमा एमाले कार्यालयमा सैनिक-प्रहरी संगठनको वृक्षारोपण


काठमाडौं, असार १४ । नेकपा एमालेका तत्कालीन महासचिव “जननेता” मदन भण्डारीको ७२ औं जन्मजयन्तीका अवसरमा नेकपा एमालेको केन्द्रीय कार्यालय परिसर र मनोहरा नदी किनारमा वृक्षरोपण गरिएको छ ।

नेपाल भुतपुर्व सैनिक-प्रहरी सङ्गठनले विहिवार आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालय परिसरमा वरको बिरुवा रोपेर वृक्षारोपण कार्यक्रम उदघाटन गर्नुभयो ।

कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले मदनले अगाडि सारेको मार्गमा एमाले अगाडि बढिरहेको बताउनु भयो । जलवायू परिवर्तनका कारण विश्वमा वातावरणमाथी सङ्कट देखिएको अवस्थामा वृक्षरोपण जस्तो महत्वपुर्ण कार्य गरेर त्यसका लागि सबैलाई उत्प्रेरित गरेकोमा ओलीले सैनिक-प्रहरी सङ्गठनलाई धन्यवाद दिनुभयो ।

सङ्गठनका अध्यक्ष पुर्व सहायक रथी विनोद पाण्डेले जन्म जयन्ती कार्यक्रममा मनोहरा नदी आसपासको सरसफाइका साथै १ सय ५० फलफुलजन्य, रुद्राक्ष र अन्य विरुवाहरु रोपिने बताउनु भयो ।

सैनिक-प्रहरी सङ्गठनले रक्तदान, बजार, सामुदायिक सस्था र राजमार्गहरुको सरसफाइ, वृक्षरोपण, फलफुल वितरणलगायत विविध रचनात्मक सप्ताहका रुपमा कार्यक्रम आयोजना गरि मदन जयन्ती मनाइरहेको पनि उनले जानकारी दिनुभयो ।