चितवन, असार १५ । सेतो कमिज सुरुवालमा सजिएका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आफै खेतमा धान रोप्न थालेपछि धेरैको कौतुहलता देखियो ।
एमाले अध्यक्ष ओलीले सधैभरी खेती गर्दै आएका किसानले जस्तै छुपुछुछु धान रोपेको दृष्यले सवैलाई लोभ्यायो । ओलीसँगै एमाले पोलिटब्यूरो सदस्य तथा चितवनका इञ्चार्ज पूर्वमन्त्री पार्वत गुरुङ पनि धान रोप्न थाल्नुभयो । सँगै रहनुभएका ओलीले छिटोछिटो धान रोपेको देखेपछि गुरुङ र चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने चकित पर्नुभएको थियो । उहाँहरु मात्रै होइन, अन्य सहभागी पनि चकित परे ।
असार १५ मनाउन चितवन आउनु भएका पूर्व प्रधानमन्त्री ओलीले आज केरूङ्गा सामुदायिक तरकारी फर्म नयाँ बस्तीमा मेसिन र हात दुवैबाट धान रोप्नुभएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मेसिनबाट ओलीले धान रोप्ने क्रमको सुरुवात गर्नुभएको थियो ।

धान रोपाइँका लागि ओली बिहीबार दिउँसो नै चितवन आइपुग्नुभएको हो । भरतपुर महानगरपालिका वडा नं.२४ मा रहेको केरूङ्गा सामुदायिक तरकारी फर्म नयाँ बस्तीको ३ विघा जग्गामा धान रोपाइँ भएको छ । बोरिङ्गबाट तानिएको पानीले खेत हिलो बनाइएको थियो ।
ओलीले मेसिनबाट र हातले धान रोपेपछि केहीबेर किसानहरूसँग अन्तरक्रिया पनि गर्नुभयो । अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालका अनुसार चितवन कृषिको व्यवसायीकरण र आधुनिकरण भएको ठाउँ भएको र देशब्यापी सन्देश पनि जाने भएकाले चितवन रोजिएको हो ।














प्रतिक्रिया दिनुहोस्