जनता टाइम्स

१५ असार २०८०, शुक्रबार १३:१२

राजेन्द्र राईलाई हिक्मत कार्कीको जवाफ : तपाईंलाई एमालेमा स्वागत गर्न चाहन्छौं


विराटनगर, असार १५ । कोशी प्रदेशका मुख्यमन्त्री एवं नेकपा एमालेका स्थायी कमिटी सदस्य हिक्मत कार्कीले पूर्वमुख्यमन्त्री राजेन्द्र राईलाई एमालेमा स्वागत गर्न तयार रहेको जवाफ फर्काउनु भएको छ । मुख्यमन्त्री कार्कीले आज यस्तो जवाफ दिनुभएको हो ।

विश्वासको मत लिने कार्कीको प्रस्तावमाथि बिहीबार प्रदेशसभामा भएको छलफलमा भाग लिँदै एकीकृत समाजवादीका सचिव तथा कोशी संसदीय दलका नेता राईले पेल्न छाड्ने हो भने समर्थन मात्र होइन, पार्टी नै एकता गर्न चाहेको बताउनु भएको थियो ।

आज जवाफ दिने क्रममा एमाले संसदीय दलका नेता समेत रहनुभएका मुख्यमन्त्री कार्कीले राईको नामै लिएर एमालेमा स्वागत गर्न तयार रहेको बताउनु भयो । ‘एमाले निर्माणमा तपाईंको ठूलो भूमिका छ । विद्यार्थी आन्दोलनमा सँगसँगै कुटिएका छौं, जेल गएका छौं । अहिले पनि एमालेमा तपाईंको आवश्यकता छ,’ राईको बिषयमा कार्कीले भन्नुभयो ।

एमालेमा काम गर्ने वातावरण बनाउन आफूले भूमिका खेल्ने प्रतिवद्धतासमेत उहाँले जनाउनु भएको छ । त्यसमा अवरोध भए सँगै लड्ने भन्दै कार्कीले थप्नुभयो, ‘एमालेमा कसैलाई काखापाखा गर्न सम्भव छैन ।’