जनता टाइम्स

१७ असार २०८०, आईतवार १७:५४

कर्णालीमा प्रदेशसभाको अवरोध हट्यो, एमालेसँग ७ बुँदे सहमति (संझौतापत्रसहित)


सुर्खेत, असार १७ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच ७ बुँदे सहमति भएपछि कर्णाली प्रदेशसभाको अवरोध हटेको छ ।

सभामुख नन्दा गुरुङको अध्यक्षतामा आइतबार बसेको सर्वदलीय बैठकले आगामी आर्थिक वर्षमा सरकारबाट १५ लाखभन्दा कम रकम विनियोजन भएका योजनाहरू कार्यान्वयन नगर्ने लगायतका निर्णय भएपछि एमाले प्रदेशसभाको अवरोध खोल्न तयार भएको हो ।

यसअघि एमालेले बजेट संशोधन लगायतका माग राख्दै सदन अवरुद्ध गर्दै आएको थियो । आज भएको बैठकमा चालु आर्थिक वर्षमा १५ लाख रुपैयाँभन्दा कम रकमका योजनामा प्रमुख प्रतिपक्षसँग समन्वय गरी रकम विनियोजन गर्ने सहमति भएको छ ।

त्यस्तै सशर्त अनुदानको नाममा सङ्घीय सरकारबाट स–साना योजनाहरूमा रकम विनियोजन भएकोमा निश्चित मापदण्डको आधारमा मात्र सशर्त योजनाहरूमा रकम विनियोजन गर्न सङ्घीय सरकारलाई अनुरोध गर्ने सहमति भएको छ । सडक र भवन निर्माण योजनामा ३० लाखभन्दा कम रकम विनियोजित भए त्यस्ता योजना कार्यान्वयन नगर्ने व्यवस्था मिलाउने सहमति पनि भएको छ ।