काठमाडौं, असार २० । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा मागेको छ। एमालेबाट बोल्दै सांसद रघुजी पन्तले प्रधानमन्त्री दाहालको राजीनामा नआएसम्म संसद चल्न नदिने चेतावनी दिनुभयो ।
प्रधानमन्त्री दाहालले सरदार प्रितम सिंहको किताब विमोचनको क्रममा आफू प्रधानमन्त्री हुँदा पटकपटक दिल्ली गएको र आफूलाई प्रधानमन्त्री बन्न सहयोग गरेको अभिव्यक्ति दिनुभएको थियो । सो अभिव्यक्तिले नेपालीको मनमा आघात पुगेको एमालेको भनाई छ ।
‘यतिबेला नेपालीको मनमा आघात पुगेको छ। सम्मानीय प्रधानमन्त्री भनौं कि नभनौं भइरहेको छ। हाम्रो मनमा बादल लागेको छ। नेपालीको स्वाभिमान गिरेको छ। नेपालीहरू रोएको छ,’ एमाले सांसद पन्तले भने।
उहाँले नेपालीहरू वीर सपुतहरूको सन्तान रहेको भन्दै प्रधानमन्त्री राष्ट्रको गरिमाभन्दा ठूलो हुन नसक्ने बताए। ुहामी भक्ति थापा, अमर सिंह, वलभद्र कुँवरको सन्तान हौं। के प्रधानमन्त्री राष्ट्रको गरिमाभन्दा ठूलो कुरा होरु यदि होइन भने नैतिकताको आधारमा प्रधानमन्त्रीमा बस्नु हुँदैन। राजीनामा दिनुस,’ सांसद पन्तले भन्नुभयो । उहाँले प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद चल्न नदिने बताउनु भयो ।
सभामुख देवराज घिमिरेले संसद बैठक अगाडि बढाउन खोज्दा एमालेले प्रतिपक्षी दलहरूले रोस्टम घेराउसमेत गरेका थिए। एमालेसँगै प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले पनि संसद अवरोध गरेका थिए।
सभामुख घिमिरेले आधा घन्टाका लागि बैठक स्थगित गर्नुभएको छ । यसअघि पनि एमालेले प्रधानमन्त्रीको जवाफ मागेपछि संसद बैठक बस्न सकेको थिएन। एमालेले राष्ट्रिय सभामा पनि बैठक अवरोध गरेको छ ।













प्रतिक्रिया दिनुहोस्