जनता टाइम्स

२१ असार २०८०, बिहीबार १६:५४

प्रदेश प्रमुखलाई एमालेको ध्यानाकर्षण पत्र : सभामुख जोडेर मुख्यमन्त्री नियुक्त गर्न मिल्दैन


बिराटनगर, असार २१ । नेकपा एमाले संसदीय दलले सभामुखलाई जोडेर बहुमत पुर्याएको अवस्थामा मुख्यमन्त्री नियुक्त नगर्न कोशी प्रदेश प्रमुखलाई ध्यानाकर्षण गराएको छ ।

एमाले दलका नेता (कामचलाउ मुख्यमन्त्री) हिक्मत कार्कीले राप्रपाका नेता भक्ति सिटौलाको समेत उपस्थितिमा आज प्रदेश प्रमुख पर्शुराम खापुङलाई ध्यानाकर्षण पत्र बुझाउनु भएको हो । सभामुखलाई गणना नगर्दा नयाँ सरकार गठनका लागि मौजुदा प्रदेशसभा सदस्य संख्याको बहुमत संख्या अर्थात ४७ नपुग्ने अवस्था देखिएको तर सभामुखलाई समेत गणना गरी बहुमत सावित गर्ने प्रयत्नको सम्भावनाप्रति गम्भीर ध्यान आकृष्ट भएको पत्रमा उल्लेख छ ।

‘सभामुख बाबुराम गौतमले २०७९ साल पौष २८ गते प्रदेश सभाको पहिलो बैठकमा मैले निष्पक्षताको पदमा आशिन हुँदै गर्दा मेरो हालसम्म रहेको दलसँगको आबद्धता यो सभामुख पदको भूमिका निर्वाह गर्ने कार्यकालसम्म आजैको मितिदेखि अलग भएएको यस सभा समक्ष घोषणा गरे बमोजिम उहाँले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलको सदस्यता परित्याग गरेको कुरा विवादरहित छ,’ पत्रमा भनिएको छ, ‘उक्त घोषणा अहिले पनि प्रदेश सभाको विद्युतीय अभिलेखमा सुरक्षित नै छ । त्यसरी विद्युतीय अभिलेखमा रहेको कुनै पनि विषय विद्यमान प्रचलित कानुनले लिखत सरह मान्य हुने व्यवस्था गरेको छ ।’

पत्रमा जवर्जस्ती गरिए सभामुख बाबुराम गौतम कुनै पनि दलको सदस्य नभएकाले सरकार गठनका लागि संख्यामा गणना गर्न संविधान, कानुन, संसदीय मुल्य, मान्यता, राष्ट्रिय तथा अन्तराष्ट्रिय सिद्धान्त एवं अभ्यास विपरीत हुने र स्वयं सभामुखको गरिमामा समेत गम्भीर प्रश्न उठ्ने उल्लेख छ ।

उपरोक्त तथ्य, प्रमाण र विश्लेषणको आधारमा सभामुख पदमा आशिन व्यक्ति निष्पक्ष र तटस्थ भूमिकामा रहने हुदाँ कुनै निश्चित दलको संख्यामा गणना गरी सोही आधारमा प्रदेश सरकार गठन प्रक्रियामा बहुमत पुर्याएको भनी संविधानको धारा १६८(२) बमोजिमको सरकार गठनका लागि दावी पेस भई आएमा मुख्यमन्त्री नियुक्त नगर्नका लागि प्रदेश प्रमुखसमक्ष ध्यानाकर्षण पत्र पेस गरेको पत्रमा उल्लेख छ ।

कोशीमा गठबन्धन दलले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष कांग्रेस नेता उद्धव थापाको नेतृत्वमा नयाँ सरकार गठनका लागि दावी पेस गर्दा सभामुखको नाम पनि समावेश गर्ने देखिएको छ ।

९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा (एकिकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टीको एक गरी बहुमत ४७ प्रदेश सांसदको समर्थन रहेको भन्दै सरकार गठनका लागि दावी पेस गर्ने निर्णय गरेको छ । प्रदेशसभामा एमालेका उपसभामुखसहित ४० र राप्रपाका ६ जना प्रदेश सांसद छन ।