जनता टाइम्स

२२ असार २०८०, शुक्रबार १३:४४

सरकारले संबिधान र लोकतन्त्रको चीरहरण गर्यो : शंकर पोखरेल


काठमाडौं, असार २२ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले संविधान र लोकतन्त्रको चीरहरण गरेको बताउनु भएको छ ।

कोशी प्रदेशमा सरकार गठनमा सभामुख बाबुराम गौतमको हस्ताक्षर दुरूपयोग भएको भन्दै एमाले महासचिव पोखरेलले सरकारले पटकपटक राष्ट्र, संविधान र लोकतन्त्रको चीरहरण गर्दै आएको बताउनु भयो ।

सभामुख गौतमले आफै हस्ताक्षर गरेर नेपाली कांग्रेसका उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्रीमा समर्थन दिनुभएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा गौतमले आफ्नो संबैधानिक भूमिकाबिपरितसमर्थन पत्रमा गौतमले आफूलाई प्रदेशसभा सदस्य भनेर उल्लेख गर्नुभएको छ । सभामुखको हस्ताक्षरले मात्रै थापालाई मुख्यमन्त्री बन्न बहुमत (४७) पुगेको हो । यही बिषयलाई लिएर पोखरेलले संबिधान र लोकतन्त्रकै चीरहरण भएको बताउनु भएको हो ।

‘प्रधानमन्त्री भारत भ्रमणमा उड्ने बेलामा मन्त्रिपरिषदको निर्णयका आधारमा निष्कृय बनेको नागरिकता विधेयक प्रमाणिकरण गर्ने राष्ट्रपतिको कदम, आफुलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक-पटक दिल्ली गएको प्रधानमन्त्रीको अभिव्यक्ति र कोशी प्रदेशमा सरकार गठनमा सभामुखको दुरुपयोग राष्ट्र, संविधान र लोकतन्त्रको चीरहरण गर्ने घटनाहरु हुन,’ पोखरेलको भनाई छ ।

सरकारले गर्दै आएको यस्ता घटना र प्रवृत्तिको जति आलोचना गरेपनि कम नहुने उहाँको भनाइ छ। ‘उक्त घटनाका सन्दर्भमा सत्ता गठबन्धनमा सहभागी दलहरुको बचाउले त्यसबाट नैतिक मुल्यमा भएको क्षतिको भर्पाई हुन सक्तैन । राष्ट्रको गरिमा, संविधान र लोकतत्रको रक्षाका लागि सबै जिम्मेवार दल र नेताहरु गम्भीर हुनुपर्यो ,’ पोखरेलको भनाई छ ।