काठमाडौं, असार २२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको सार्वभौमसत्तामाथि मजाक उडाएको निश्कर्ष सुनाउनु भएको छ । स्वबियू काउन्सिल नेपालको १०औं राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रममा आज बोल्दै एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीले राष्ट्रियता र देशको सार्वभौमसत्तामाथि मजाक उडाएको बताउनु भयो ।
‘नेपाली सांसदहरूले सरकार बनाउने होइन । दिल्ली दौडिएर सरकार बन्छ भनेर राष्ट्रियतामाथि मजाक उडाइएको छ । देशको सार्वभौमसत्तामाथि मजाक उडाइएको छ । यो मामुली कुरा होइन,’ ओलीले भन्नुभयो, ‘हामीले राजीनामा माग्यौं, यो अत्ति भयो, संसदको अपमान भयो, संविधानको बर्खिलाप भयो, लोकतन्त्रको उपहास भयो भनेर ।’
उहाँले गठबन्धनको दम्भ बढेको पनि बताउनु भयो । ‘हिजो गठबन्धनका नेताहरूले मसल देखाएर भोलि संसदमै भेटौंला भने । गठबन्धनका नेताहरूले वार्ता गर्छौं, समाधान गर्छौं भन्नुभएन, सामना गरौंला भन्नुभयो । प्रतिपक्षीको तर्फबाट नम्रताका साथ भन्न चाहन्छु, सत्ता पक्षले संसदमा मात्रै होइन, जहाँ भन्छ, त्यहाँ हामी तयार छौं । स्पट तोकेर बोलाए हुन्छ, त्यहाँ पुग्न तयार छौं,’ ओलीको भनाई थियो ।
नेपालको सार्वभौमसत्ता नेपालको संसद र नेपाली जनतामा निहित रहेको तथ्य बिपरित प्रधानमन्त्रीले आपत्तिजनक अभिब्यक्ति दिएको ओलीको भनाइ छ । ‘प्रधानमन्त्री आफैँले एउटा प्रमाण बल्ल पेस गर्नुभएको छ । त्यस्ता कति प्रमाण छन । कति कुदेका छन दील्ली । उहाँले एउटा मित्र राष्ट्रलाई दिल्लीले हामी कहाँ कोही आएको छ भनेको छैन । प्रितम सिंहले प्रेस कन्फ्रेन्स गरी भन्नुहुन्छ, म दिल्ली प्रचण्डलाई प्रधानमन्त्री बनाउन गएको होइन भनेर । उहाँ (प्रचण्ड) ले किन भन्नुहुन्छ उहाँले नै जान्नुहुन्छ,’ ओलीले भन्नुभयो ।

प्रधानमन्त्री दाहालले प्रितम सिंहलाई बेकारमा फसाइ दिएको पनि बताउनु भयो । ’प्रितम सिंह दिल्ली नै गएकै छैन । तर दिल्ली जानुभयो प्रितम सिंह भनेर प्रचण्डले झुट बोल्नुभयो । मित्रराष्ट्र भारतले नेपालमा सरकार बनाउँछु भनेर अहिलेसम्म भनेको छैन। त्यो भन्नु नेपालको सार्वभौमसत्ता विपरीत हुन्छ । त्यो कुरा भारतलाई पनि थाह छ,’ ओलीले थप्नुभयो, ‘भारत भन्दैन तर, नेपालको प्रधानमन्त्री भनिरहेका छन । नेपालको सार्वभौमसत्ता नेपालको संसद र नेपाली जनतामा निहित छैन ।’













प्रतिक्रिया दिनुहोस्