काठमाडौं, असार २२ । प्रधानमन्त्री बन्ने भए दिल्ली जानु भन्ने सन्देश प्रवाह गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिनुभएको विवादास्पद अभिव्यक्तिका कारण संसदमा उत्पन्न भएको गतिरोध खोल्न दलहरुबीच सहमति नभएपछि प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ ।
आजका लागि तय भएको बैठक सूचना टाँसेर स्थगित भएको हो । गत मंगलबार प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै राजीनामा दिनुपर्ने अडान सहित सदन अवरोध गरेको थियो ।
उक्त अवरोधपछि रोकिएको बैठक आज दिउँसो ३ बजेका लागि तय गरिएको थियो । तर सभामुख देवराज घिमिरेले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरुबीच सदनलाई सहज रुपमा अघि बढाउने विषयमा सहमति नभएपछि सूचना टाँसेर आइतबारसम्मका लागि बैठक स्थगित गरिएको छ ।
’सत्तापक्ष र प्रमुख विपक्षीबीच घनिभूत छलफल गरेर भोलिसम्ममा सहमति गर्नुहोला । संसद अवरुद्ध हुँदा विधेयक (खासगरी मिटरब्याज सम्बन्धी) निष्क्रिय हुनु राम्रो होइन । तपाईंहरु एउटा निष्कर्षमा पुग्नैपर्छ । त्यसका लागि सहजीकरण गर्न म तयार छु । पर्सीसम्मा सहमति गर्नुहोला । आजको बैठक सूचना टाँसेर स्थगित गरौं,’ दलहरुबीच सहमति नभएपछि सभामुख घिमिरेले भन्नुभयो ।
दलहरुबीच सहमति जुटाउनसभामुख घिमिरेले पहल गरिरहनु भएको छ । मुलुकको प्रतिष्ठामाथि नै गम्भीर आँच पुर्याउने बिषयमा प्रधानमन्त्रीले आपत्तिजनक कुरा गर्दा सत्तापक्षले बालुवाटारमा बैठक राखेर धम्कीको भाषा बोलेको भन्दै आजको बैठकमा एमाले निकै कडा रुपमा प्रस्तुत भएको थियो ।













प्रतिक्रिया दिनुहोस्