दोलखा, असार २३ । दोलखाको उत्तरी क्षेत्र गौरीशंकरगाउँपालिका वडा नम्बर ८ खारे र विगु गाउँपालिका वडा नम्बर ३ बुलुङ जोड्ने झोलुङ्गे पुलको जीर्णोद्धार गरिएको छ । माथिल्लो तामाकोशी नदीमाथिको निकै पुरानो झोलुङ्गे पुल अर्थात ११० वर्ष पुरानो ऐतिहासिक झोलुङ्गे पुल व्यक्तिगत पैसा जुटाएर स्थानीयबासी आफैले जीर्णोद्धार गरेका हुन ।
गौरीशंकर गाउँपालिकाको वडा नम्बर ८ खारे, वडानम्बर ५ सुरी र बिगु गाउँपालिकाको वडा नम्बर ३ बुलुङबासीका लागि निकै उपयोगी यो पुल भूकम्पपछि जिर्णाद्वार हुन सकेको थिएन । पछिल्लो पटक स्थानीय सरकारलेपनि खासै चासो नदिएपछि आफ्नो पुर्खाको चिनो जोगाउन स्थानीय आफै जुटेका हुन ।
तत्कालीन राणाकालीन समय गौरा पर्वत नेपाल–चीनको सीमाना तीब्बतस्थित भोट खोलाबाट दक्षिण हुँदै बहने बुलुङ र खारेको बीचमा पर्ने यो नदीमाथि स्थानीयहरुको सहज आवागमनका लागि समाजसेवी छविलाल आचार्यले १९७० सालमा निर्माण सुरू गरी १९७३ सालमा पुल तयार पार्नुभएको थियो ।
आचार्यले तीन वर्ष लगाएर बुलुङपट्टी ठूलो केसरी र खारेपट्टी सहेले खेतमा जीप राखी दुईलठ्ठे पुल निर्माण गर्नुभएको बृद्धबृद्धाहरुको भनाई छ । पुल निर्माणपछि तत्कालीन गाउँ पञ्चायतहरू बुलुङ, खारे, लादुक, सुरीलगायतका स्थानीयलाई आवतजावत गर्न सहज भएको थियो । त्यसपछि २००४ सालमा बुलुङ बसोबास गर्ने षडानन्द आचार्यको ५ भाई छोराहरू मिलेर पुल निर्माणलाई लाग्ने सम्पूर्ण खर्च आफै बेहोरेर पुलमा ठूलो लठ्ठा र थप साङ्लो राख्नुका साथै पुललाई अहिलेको जामुने भन्ने स्थानमा सारेका थिए ।
त्यसबेला पुलमा ठूलो लठ्ठा र थप साङ्लो राख्नका लागि पुलका निर्माणकर्ताहरू कमलप्रसाद आचार्य, कलाधर आचार्य, देवदत्त आचार्य, प्रयागराज आचार्य र गौरीकान्त आचार्यले रामेछाप ठोसेमेक्चनस्थित फलाम खानीबाट काचो फलाम हप्तौँ लगाएर बोकेर ल्याउनु भएको थियो । सो फलामलाई निर्माणस्थलमै आरन खडा गरी गालेर आवश्यक आकार निकालेर पुल निर्माण गरिएको थियो । फलाम गाल्न दाउरा पनि निक्कै खर्च भएको स्थानीयहरुले सुनाउछन । जामुनेमा पुल सारेर थप व्यवस्थित र बलियो बनाएपछि मानिसहरूको आवतजावतमा थप सहज भएको थियो ।
आफ्ना पुर्खाहरूले निकै दुःख गरी निर्माण गरेको पुल अहिले सन्ततीहरूले पनि पुनः व्यक्तिगत खर्चमै जीर्णोद्धार गरेका हुन । पछिल्लो समय त्यस क्षेत्रमा सडक तथा मोटरेवल पुलहरू निर्माण भएसँगै ऐतिहासिक पुल थप जीर्ण बन्दै गएको र पुर्खाको सम्झना मेटिने अवस्था देखेपछि पुल जीर्णोद्धार गरिएको सन्तती एवं शिक्षक जनककुुमार आचार्यले बताउनु भयो ।
कमल प्रसादका सन्तती कबन आचार्य विगु–३ बुलुङ कलाधरका सन्तती दीपक आचार्य गौरीशंकर–८ खारे देवदत्तका सन्तती ओमकृष्ण आचार्य, विगु–३ बुलुङ प्रयागराजका सन्तती सुदर्शन आचार्य, गौरीशंकर–८ खारे, गौरीकान्तका सन्तती दीपक, विष्णुराज आचार्य, विगु–३ बुलुङ, छविलालका सन्तती अमृत कुमार आचार्य, विगु–२ ओराङबासीले क्रियाशील भएर यो पुल जीर्णोद्धार गरिएको हो ।
तत्कालीन समयमा व्यक्तिगत खर्च र श्रममा निर्माण गरिनु एउटा परिस्थिति भए पनि पुनः जीर्णोद्धारका लागि समेत निजी खर्च र श्रम नै किन भन्ने जिज्ञासामा नेतृत्वकर्ता सन्ततीमध्येका अग्रज समाजसेवी दीपक आचार्यले भन्नुहुन्छ, ‘पितापुर्खाहरूको सपना, कृति, पौराणिक तथा भौतिक संरचना जीवीत राख्न र उहाँहरूको नाम अमर राख्नका लागि ऐतिहासिक साङ्ले साँघु जीर्णोद्धार गरेका हौँ ।’
यस्तै, कबन आचार्यका अनुसार २०७९ सालमा सुरू गरिएको जीर्णोद्धारको काम २०८० सालको यही असार महिनामा सम्पन्न भएको हो । मन, वचन र कर्मले पुल जीर्णोद्धार गर्न सकिएको बताउँदै उहाँले पीतापुर्खाको सपना जोगाउन सकेकोमा खुसी व्यक्त गर्नुभयो । अब आफ्ना भावी सन्ततीले समेत यो पुललाई संरक्षण गर्दै जोगाएर राख्नुपर्ने आफूहरूको अपेक्षा रहेको पनि उहाँले सुनाउनु भयो ।
जिर्णाेद्वारमा लाग्नेमध्येका एक जनककुमार आचार्यका अनुसार पुल जीर्णोद्धार गर्न करिव ६ लाख रुपैयाँ खर्च भएको छ । यो सम्पूर्ण खर्च ६ जना पुर्खाका सन्ततीहरूले नै व्यहोरेको उहाँले जानकारी दिनुभयो । आफ्ना पुर्खाको चिनो जोगाउन आचार्य परिवारले गरेको कामलाई स्थानीयवासीले खुलेर प्रसंशा गरेका छन ।













प्रतिक्रिया दिनुहोस्