काठमाडौं, २६ असार । सोलुखुम्बुको लिखुपिकेमा हेलिकोप्टर दुर्घटना हुँदा मृत्यु भएका पाँच जना विदेशी नागरिक एकै परिवारको भएको खुलेको छ । आज बिहान मनाङ एयरको हेलिकोप्टर दुर्घटना हुँदा चालकसहित ६ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमध्ये पाँचजना मेक्सिकोका नागरिक रहनुभएको थियो । उहाँहरु सबै एकै परिवारका भएको हेलिकोप्टर सेवा प्रदायक संस्था एभरेष्ट एक्सपेरिअन्स एन्ड एसिस्टेन्सका सञ्चालक मुक्ति पाण्डेले बताउनुभयो ।
मृत्यु हुने मेक्सिकन नागरिकहरु एभरेष्ट एक्सपेरिअन्स एन्ड एसिस्टेन्समार्फत खुम्बु क्षेत्रको अवलोकन गर्न जानुभएको थियो । उहाँहरु चढेको हेलिकोप्टर फर्कने क्रममा दुर्घटनामा परेको हो । मृत्यु हुने एकै परिवारका मेक्सिकोका नागरिकमा बाबु, आमा, दुई छोरी र एक छोरा रहेको पाण्डेले बताउनुभयो ।
मृत्यु हुनेमा सिफुइन्तेस जी. फर्नान्डो, गोन्जालेज अब्रिक, गोन्जालेज ओलासिओ लुज, सिफुइन्तेस जी. मारिया जोस र रिनकोन इस्माअल रहनुभएको छ । दुर्घटनामा सिनियर अनुभवि पाइलट चेतबहादुर गुरुङसहित पाँच जना मेक्सिकन पर्यटकको मृत्यु भएको थियो । अहिले दुर्घटनामा मृत्यु भएका ६ जनाकै शव काठमाडौं ल्याइएको छ । अल्टिच्युट एअको दुई हेलिकप्टमार्फत मृतकको शव काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । शवको त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिँदछ ।













प्रतिक्रिया दिनुहोस्