काठमाडौं, असार २७ । प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएसँगै उहाँले जीवनकै सवैभन्दा भरपर्दाे सारथी गुमाउनु परेको छ । ६ दिनअघि मात्रै सीताको ६९औं जन्मदिन मनाउनु भएका दाहालले आजबाट आफ्नो जीवनको भरपर्दाे राजनीतिक सारथी पनि गुमाउनु भएको हो ।
निकै ठूलो मेहनतका बावजुद बचाउन नसक्नु भएका दाहालले एउटा पतिका रुपमा पत्नी सीताप्रति आफूले पूरा गर्नुपर्ने सवै अभिभारा पूरा गर्नुभएको छ । सीताको चाहनामा स्वदेशदेखि बिदेशसम्म उपचार गराउने काम पनि उहाँले गर्नुभयो । अन्तिम पटक सीताको स्वास्थ्यलाभको कामना गर्दै बालुवाटारमै कार्यक्रम गरिएको थियो । गत बिहीवार सीताको जन्मदिन अनि वैशाख २७ मा उहाँहरुको वैवाहिक वर्षगाँठ थियो ।
यी दुवै अवसरमा सयौँ शुभचिन्तकले शुभकामना दिए । प्रधानमन्त्री निवास बालुवाटारमा जन्मदिनको अवसरमा स्वास्थ्यलाभको कामना गर्दै सानो कार्यक्रम गरिएको थियो । कार्यक्रममा सहभागी सबैले सीता दाहालको स्वास्थ्यलाभको कामना गरेका थिए । दाहालले जन्मदिनमा पत्नी सीतालाई केक खुवाउनु भएको थियो । वैवाहिक वर्षगाँठमा भने उहाँले सीतालाई चुम्बन गरेर माया साटनु भयो । सँगै जन्मदिन र वैवाहिक वर्षगाँठ मनाउने यो नै अन्तिम अवसर बन्यो दाहालका लागि ।
लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो देखिने रोगबाट पीडित सीताको स्वास्थ्य सुधार भइरहेको थिएन । त्यही रोगका कारण लामो समय ओछ्यान पर्नुभएकी सीताले आजबाट धर्ती छाडनु भएको छ । २०७४ मा छोरा प्रकाशको अल्पायुमै निधन भएपछि सीताको स्वास्थ्य झन् कमजोर हुँदै गएको थियो । बुवाको पदचाप पछ्याउँदै अघि बढेका प्रकाशको निधनले सीतामाथि बज्रपात भएको थियो । बुवाको सफलतापछि प्रकाशलाई राजनीतिमा अघि बढाउने सीताको सपना थियो । जुन साढे पाँच वर्षअघि अवसान भइसकेको छ ।
माओवादी उपाध्यक्ष पम्फा भुसालले सीता जहिले पनि पार्टीको हितमा प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले एउटा इतिहास कोरेर गएको बताउनु भयो । ‘पार्टीको सार्वजनिक राजनीतिमा त्यति आउनु भएन । तर के गर्दा पार्टीको हित हुन्छ भन्ने उहाँले ठूलो योगदान दिनुभएको छ’ भुसालले भन्नुभयो, ‘उहाँ अध्यक्ष प्रचण्डको जीवनसाथी मात्र होइन, राजनीतिक सारथी पनि हो । प्रचण्डको खास सल्लाहकार उहाँ नै हो ।’













प्रतिक्रिया दिनुहोस्