सर्खेत, असार २८ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मिस इन्फर्मेशन र डिस इन्फर्मेशनले नेपाली समाज निकै आक्रान्त हुन पुगेको भन्दै यसलाई चिर्न जरुरी रहेको बताउनु भएको छ । नेकपा एमाले कर्णाली प्रदेश कमिटी प्रचार तथा प्रकाशन बिभागले आज सुर्खेतमा आयोजना गरेको योजना तर्जुमा बिस्तारित बैठकमा बोल्दै उपमहासचिव ज्ञवालीले यस्तो बताउनु भएको हो ।
‘अहिले नेपाली समाज अफवाहको सिकार बनिरहेको छ, हुुँदै नभएको कुरा मिसन बनाएर कसैलाई सकाउने योजनाका साथ भइरहेका छन । अर्थात मिस इन्फर्मेशन र डिस इन्फर्मेशनले नेपाली समाज निकै आक्रान्त हुन पुगेको छ,’ ज्ञवालीले भन्नुभयो, ‘मिस इन्फर्मेशन र डिस इन्फर्मेशनको घेरावन्दी चलिरहेको छ, यसलाई तोडन जरुरी छ, मिस इन्फर्मेशन र डिस इन्फर्मेशनको घेरावन्दीलाई तोडेर नेपाली समाजलाई सही दिशामा लैजान लाग्नुपर्छ ।’
उहाँले अहिले एमालेसहितको नाम जोडेर सवै पुराना पार्टी असफल भए भन्दै नेपाली समाजलाई नै बिघटनको दिशातिर लैजाने गरी नैराश्यता छाउने गरी प्रचार भइरहेको भन्दै चिर्न अपिल गर्नुभयो । ‘अहिलेको प्रचार शैली गलत मात्रै होइन, आपराधिक योजनाका साथ पनि गरिएको पाइएको छ, आम जनतामा नैराश्यता, एकखालको हतास मनस्थिति निर्माण गरिएको छ, अहिलेको ट्रेण्ड कायम रह्यो भने नेपाली समाजलाई बिघटनको दिशातिर लैजान्छ,’ ज्ञवालीले भन्नुभयो । उहाँले मुलुकलाई सही दिशातर्फ अघि बढाउन भ्रामक सूचनाको घेरावन्दी तोडेर सही सूचना सम्प्रेषण गरेर जानुपर्ने बताउनु भयो ।
उपमहासचिव ज्ञवालीले एमाले कमजोर हुँदा मुलुकको राष्ट्रिय स्वाभिमान कमजोर बन्ने गरेको र समृद्धि रोकिएको तथ्यलाई आम नागरिकसम्म पुर्याएर बुझाउनु पर्ने बताउनु भयो । ज्ञवालीले मुलुक बलियो र समृद्ध बनाउने काम एमालेबाहेक अन्य शक्तिबाट नहुने ठोकुवा पनि गर्नुभयो ।
‘राष्ट्रिय स्वाभिमानको रक्षाका लागि, समृद्धि र बिकाशका लागि, आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि, लोककल्याणकारी राज्यको अनुभुति दिलाउनका लागि नेकपा एमालेको नेतृत्व यो देशको लागि अनिवार्य छ । यो सत्यलाई अनेक अफवाहमार्फत जनतामा भ्रम फैलाएर सही सूचना पुग्नबाट अवरोध भइरहेको छ, हामीले यो कुरा सवै नागरिकसम्म पुर्याउनु पर्छ,’ ज्ञवालीले भन्नुभयो । उहाँले मुलुकमा रुपान्तरणकारी रणनीतिक योजना एमाले नेतृत्वको सरकारकै पालामा भएको तथ्यलाई समेत उहाँले सबिस्तार चर्चा गर्नुभयो ।
एमाले उपमहासचिव पोखरेलले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिनाको उत्खनन गर्ने काम एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको र हिनामिनामा बर्तमान सत्ता गठबन्धनकै नेता संलग्न भएको तथ्यसमेत बंग्याउने काम भइरहेको बताउनु भयो । उहाँले थप्नुभयो, ललिता निवासको सरकारी जग्गा उत्खनन गर्ने एमाले नेतृत्वको सरकार हो, त्यस्मा संग्गन रहेका माधव नेपाल र बाबुराम भट्टराई सत्ता गठबन्धनमै रहेका छन ।’
प्रचार भेलामा एमाले सचिव तथा कर्णाली इञ्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्य केन्द्रीय प्रचार तथा प्रकाशन बिभाग प्रमुख राजेन्द्र गौतम, स्थायी कमिटी सदस्य यमलाल कँडेल, गोरख बोगटी, कर्णालीमा प्रचारको संयोजक केन्द्रीय सदस्य निरज आचार्य, एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष बिनोद शाह, केन्द्रीय प्रचार बिभागका सचिव गगन बिष्ट र प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतलगायतले बिषयगत रुपमा प्रशिक्षणा दिनुभएको छ ।
एमाले कर्णाली प्रचार बिभागका प्रमुख सर्यमणि गौतमको अध्यक्षमा बसेको बैठकको सञ्चालन उपप्रमुख नवराज महताराले गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्