काठमाडौं, साउन ४ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पूर्वगृहमन्त्री बालकृष्ण खाणको बिषयलाई लिएर सरकार छाडने कि निलम्बन गर्ने भन्ने बिकल्प प्रस्तुत भएको छ । जारी केन्द्रीय समितिको आजको बैठकमा बोल्दै केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले यस्तो प्रस्ताव गर्नुभएको हो ।
शिवाकोटीले बालकृष्ण खाणलाई कि पार्टीबाट निलम्बन होस कि कांग्रेसले सरकार छाडोस भन्ने प्रस्ताव राख्नुभएको थियो । ‘कांग्रेस प्रचण्ड नेतृत्वको सरकारमा छ । यही सरकारले हाम्रा वरिष्ठ केन्द्रीय सदस्य बालकृष्ण खाणलाई अलग अलग आरोपमा पुर्पक्षका लागि थुनामा पठाएको छ,’ शिवाकोटीले भन्नुभयो, ‘सभापतिज्यू यो प्रकरणमा हाम्रो दुबिधा अचम्मकै छ। वरिष्ठ केन्द्रीय सदस्य खाणप्रति अन्याय भयो भन्ने हो भने कांग्रेस सरकारबाट हट्नुपर्यो । होइन भने आफ्नै साथीहरू संलग्न सरकारले थुनामा पठाउँदा आरोपीहरू निलम्बन गर्नुपर्छ कि पर्दैन ।’
शिवाकोटीले घुस खानेलाई पार्टीले जोगाउन नहुने बताउनु भयो । ‘सुशासनको हिमायती कांग्रेस। कार्यकर्ताहरू कुनै पनि भ्रष्टाचारको विषयलाई पृष्ठपोषण गर्न सक्दैनन । बरु बाघ खाए खाओस तर कुनै पनि भ्रष्टाचारलाई काँध थाप्न सक्दैन र हुँदैन पनि । तर, भ्रष्टाचार हो होइन भन्ने जिम्मा लगाउन अदालतलाई छाडिदनुपर्छ । यस्तै प्रकरणमा व्यक्ति स्वयम् जबाफदेही हुनुपर्छ,’ शिवाकोटीले भन्नुभयो ।
उहाँले कांग्रैसकै मन्त्रीहरु नै पुर्वाग्रही बनेर खाण थुनामा परेका हुन भनेर प्रश्न पनि गर्नुभयो । ‘यसमा कि थुनामा गएका दोषी हुनुपर्यो कि सरकारमा रहेका हाम्रै मन्त्रीहरू पूर्वाग्रही भएको हुनुपर्यो। यो विषयमा पार्टीले प्रष्ट भन्नुपर्यो। यो बैठकबाट पनि भ्रमपूर्ण प्रचार हुनुभएन सरकार र साथीमध्ये एक के रोज्ने टुंगो लगाउनुपर्छ । तर, मलाई खाने बाघले तपाई पनि खाला भन्ने डरले जस्तो भन्ने भाष्य स्थापित गर्ने प्रयास नहोस,’ शिवाकोटीको भनाई थियो ।













प्रतिक्रिया दिनुहोस्