काठमाडौं, साउन ८ । गृह मन्त्रालयले खराव आचरणका कारण बर्खास्तको सिफारिश गरेको एक महिनासम्म गृह मन्त्रालयले कुनै निर्णय नगरी दराजमा पत्र थन्क्याएर राखेको पाइएको छ ।
इलाका प्रहरी कार्यालय, बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई प्रहरी प्रधान कार्यालयले बर्खास्त गर्न गरेको सिफारिश एक महिनासम्म पनि गृहले निर्णय नगरी थन्क्याएको पाइएको हो । सुनचाँदी व्यवसायीसँग घुस लिएको आरोप लागेका केसीको अनुसन्धानबाट गम्भीर आचरण उल्लंघन गरेको भन्दै बर्खास्तगीको सिफारिश गरिएको थियो ।
प्रहरी प्रधान कार्यालय, नक्सालले आन्तरिक छानबिनबाट गम्भीर आचरण उल्लंघन गरेर प्रहरी ऐन विपरितको कार्य गरेको देखिएको भन्दै जागिरबाट हटाउन गृह मन्त्रालयसमक्ष सिफारिस गरिएको थियो । प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) कुवेर कडायतका अनुसार प्रहरी प्रधान कार्यालयबाट भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहुने गरी पत्र गइसकेको बताउनु भयो ।
उहाँका अनुसार गृहबाट निर्णयबारे कुनै जानकारी आएको छैन । इप्रका बुटवलमा रहँदा डीएसपी केसीको निवासबाट प्रहरीले ३५ तोला सुन, ८ लाख ५० हजार रुपैयाँ नगद, ९ लाख ५० हजार रुपैयाँको चेक लगायत बरामद गरेको थियो । लगत्तै छानबिनका लागि तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रकुवेर खापुङको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको थियो ।
समितिले केसीलाई फौजदारी कसूर अन्तरगत छानबिन गर्न सिफारिस गरेपनि आन्तरिक छानबिन मात्र भएको हो । अहिले पनि प्रहरी प्रधान कार्यालयले गृहमा बर्खास्त गर्न सिफारिससहित पत्राचार गरेको एक महिना पुग्न लागेपनि गृहले कुनै निर्णय गरेको छैन ।













प्रतिक्रिया दिनुहोस्