जनता टाइम्स

८ श्रावण २०८०, सोमबार १९:३५

कांग्रेस बैठकमा महामन्त्री थापाको घोषणा : संसदीय दलको नेता फेर्न लागेकै छु, लागिरहन्छु


काठमाडौं, साउन ८ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस संसदीय दलको नेता बदल्नका लागि आफू लागिरहेको घोषणा गर्नुभएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा महामन्त्री थापाले संसदीय दलको नेता बदल्न लागेको र सकेमा बदल्ने घोषणा गर्नुभएको हो ।

केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने क्रममा प्रतिनिधिसभा सदस्यसमेत रहेका महामन्त्री थापाले गाह्रो भए पनि संसदीय दलको नेता बदल्न लागेको बताउनु भयो ।संसदीय दलको नेता फेर्न किन लागेको भन्ने प्रश्न नगर्न पनि थापाले सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवानिकटका नेताहरूलाई आग्रह गर्नुभयो ।

’मैले पार्टी फुटाउने कुरा गरेको हो र ? मैले त दलको नेता फेर्ने कुरा गरेको हो । म बदल्न लागिरहेको छु, सके बदल्छु नसके चुप लागेर स्विकार्छु,’ बैठकमा थापाको भनाई थियो । सभापति तथा दलका नेता देउवालाई संसदीय दलको नेता फेर्ने कुरा नौलो नरहे पनि उहाँ निकट नेताहरूले भने प्रश्न गर्न लागेको थापाले बताउनु भयो । ’सभापतिले आफू फेर्दै गरेकाले यसले प्रयास गर्छ भन्ने लागेको छ । अरुले कति चिन्ता गर्नुभएको हो ?,’ थापाले भन्नुभयो ।

थापाले बैठकमा आफू संसदीय दलको नेता फेर्ने प्रयास गरिरहने पनि बताउनु भयो । मतदाताको बीचमा भोटिङ भए अर्कै कुरा हुनेथियो तर सांसदको मत पाउन झन् गाह्रो हुने थापाको भनाई थियो । गाह्रो काम भनेर संसदीय दलको नेता परिवर्तन गर्ने अभियानबाट पछि नहट्ने पनि थापाले प्रष्ट पार्नुभयो ।