जनता टाइम्स

१३ श्रावण २०८०, शनिबार १३:४७

एनआरएनए पोर्चुगलको वरिष्ठ उपाध्यक्षमा ठकुरीको उम्मेद्वारी


काठमाडौं, १३ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का राष्ट्रिय समन्वय परिषद् (एनसिसी) हरूमा अहिले चुनावी माहोल चलिरहेको छ । जुलाईभित्र सबै राष्ट्रिय समन्वय परिषद्लाई अधिवेशन सकेर नयाँ नेतृत्व चयन गर्न गैरआवासीय नेपाली संघले निर्देशन दिएका कारण एनसिसिहरु धमाधम चुनावमा गरिरहेका छन् । उता युरोपेली राष्ट्र पोर्चुगलमा पनि चुनावी माहोल तातिरहेको छ । एनसिसी पोर्चुगलको निर्वाचन आगामी भोलीका लागि तय भएको छ ।

सोही निर्वाचन क्षेत्र लिस्बनमा बस्दै आउनुभएको युवा सुनिल मल्ल ठकुरीले एनआरएनए पोर्चुगलको वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी घोषणा गर्नुभएको छ । नेपाली राष्ट्रिय रग्बी टोलीका पूर्वखेलाडीसमेत रहनुभएको उहाँले उम्मेद्वारी घोषणा गरेसँगै विभिन्न ठाउँमा पुगेर नेपाली समुदायहरूसँग छलफल र अन्तरक्रिया गर्नुभयो ।
उहाँले कतारमा भएको अन्तर्राष्ट्रिय रग्बी प्रतियोगिता खेल्नुका साथै तत्कालीन मध्यमाञ्चल र गोर्खाली रग्बी क्लबबाट राष्ट्रिय प्रतियोगितासमेत जित हात पार्नुभएको थियो ।

युवा उम्मेद्वार ठकुरी नेपालमा रहँदा मार्सल आर्ट्सका विभिन्न विधा खेलाडीसमेत हो । खेलकुद पृष्ठभूमि र युवाहरूमाझ लोकप्रिय रहेकाले उहाँलाई एनआरएन पोर्चुगलको वरिष्ठ उपाध्यक्षमा बलियो दाबेदारको रूपमा हेरिएको छ । संस्थागत रूपान्तरणः सामाजिक एकता, सबैको एनआरएनए हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारा लिएर उहाँ चुनावी मैदानमा उत्रिनुभएको छ । निस्वार्थ सेवा, नेपाली समुदायमा एकता र सबैको साझा एनआरएनए बनाउने उद्देश्यअनुरूप पोर्चुगलमा रहेका नेपाली समुदायबीच गएकाले आफूले जित्ने उहाँको विश्वास छ ।

युवाहरू नेतृत्वमा आउनुपर्छ भन्ने धारणा सबैको रहेकाले पनि आफ्नो जित हुने उहाँको विश्वास छ । नेपालीहरूका लागि युरोपको सबैभन्दा बढी रोजाईको गन्तव्य पोर्चुगल बन्दै गए पनि उनीहरूले आफ्नो समुदायबाट साथ सहयोग पर्याप्त नपाएको गुनासो आइरहेको समयमा आफूले संस्थागत रूपमा पुलको काम गर्ने ठकुरीले बताउनुभयो । आफू युवा र विभिन्न समाजलाई केन्द्रित गरेर अघि बढ्ने योजनामा रहेको युवा उम्मेद्वारी ठकुरीको भनाइ छ ।

उहाँले भन्नुभयो,‘सबैसँग सहकार्य गरेर दृढ संकल्पका साथ चुनावी मैदानमा उत्रिएको हुँ । मेरो जित भएमा रोजगारी र पेशागत विकासजस्ता निश्चित विषयहरूमा एनसिसी पोर्चुगलबाट प्रशिक्षण दिलाउने कार्यक्रमहरू अगाडि बढाउने लक्ष्य छ ।’ सुनिलले नेतृत्वमा नरहँदा पनि नेपाली समुदायलाई अफ्ठयारो परेका समयमा सहयोग गर्दै आउनुभएको छ । सरल तथा मिलनसार शैलीका कारण धेरै नेपाली प्रभावित भएकाले पनि उहाँले जित्न सक्ने आधार रहेको लिस्बनमा बस्दै आएका युवाहरू रामेश्वर बर्तौला र सन्जय बर्तौला बताउँनुहुन्छ ।