जनता टाइम्स

१७ श्रावण २०८०, बुधबार १७:४३

शपथसँगै कोशीका मुख्यमन्त्री थापाले सम्हाले कार्यभार, निवर्तमान सभामुख बने आर्थिक मामिलामन्त्री


मोरङ, साउन १७ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले शपथ लिनुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित समारोहमा थापाले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

मुख्यमन्त्री थापा मंगलबार नियुक्त हुनुभएको थियो । आफूले शपथ लिएसँगै मुख्यमन्त्री थापाले सानो मन्त्रिपरिषद् समेत बनाउनु भएको छ । मन्त्रिपरिषदमा निर्वतमान सभामुख माओवादी केन्द्रका नेता बाबुराम गौतम आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त हुनुभएको छ ।

आर्थिक मामिलामा गौतम, खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीमा कांग्रेसका प्रदीपकुमार सुनुवार र सडक पूर्वाधार तथा भौतिक विकासमन्त्रीमा नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगुले शपथ लिनुभएको छ । माओवादीभित्र मन्त्री छनोटमा भएको ढिलाइ र मन्त्रिपरिषद्को कार्यविभाजनमा समय अपुग भएको भन्दै बिहान १० बजेकोका लागि तोकिएको मुख्यमन्त्री र मन्त्रीको शपथ ग्रहण कार्यक्रम साँझ ५ बजेका लागि सारिएको थियो ।

सभामुखबाट मंगलबार राजीनामा दिएर थापालाई मुख्यमन्त्री नियुक्तिका लागि हस्ताक्षर गर्नुभएका गौतमलाई मन्त्री बनाउने निर्णयमा पुगेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालका कान्छा ज्वाइँ जीवन आचार्यले अन्तिम समयमा मन्त्रीमा दाबी गरेपछि माओवादी दलभित्र बढेको विवाद र कार्यविभाजनका लागि शपथ ग्रहण सारेको थियो ।

मुख्यमन्त्री थापालाई समर्थन जनाएको जनता समाजवादी पार्टीले प्रदेश पुनः नामकरणको माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने जनाएको छ । यद्यपी यो अडान पनि नाटकमै सिमित भई केही दिनपछि सरकारमा सहभागी हुने बताइएको छ ।