जनता टाइम्स

१८ श्रावण २०८०, बिहीबार १९:१६

महासंघ अध्यक्ष चन्द्र ढकालको आक्रोश : ऋण लिएर लगानी गर्ने, रोजगारी दिने ब्यवसायी कसरी दोषी भए ?


काठमाडौं, साउन १८ । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले मुलुकको अर्थतन्त्र मन्दीमा गइसकेको बताउनु भएको छ । महासंघको नेतृत्व सम्हालेको एक सय दिन पुगेको अवसरमा आज आयोजित कार्यक्रममा अध्यक्ष ढकालले अर्थतन्त्र मन्दीमा गइसकेको बताउनु भएको हो ।

कोरोनापछि तीब्र बिस्तारको रफ्तारका कारण अहिले अर्थतन्त्र मन्दीमा गएको ढकालको भनाई छ । ‘कोरोनापछि आक्रामक बिस्तार भएको अर्थतन्त्रमा एक्कासी ब्रेक लगाउदा अहिले मन्दी आएको हो । राजस्व पनि १३ प्रतिशत घटेको छ,’ अध्यक्ष ढकालले भन्नुभयो । उहाँले कर्जाको तुलनामा कुल गार्हस्थ उत्पादन वृद्धि नभएको दोष निजि क्षेत्रलाई मात्रै बोकाईनु गलत भएको बताउनु भयो ।

‘कर्जा प्रवाहको प्रभाव जिडिपिमा देखिएन भनेर निजि क्षेत्रलाई गाली गरिएको छ । के ऋण लिनु हाम्रो दोष नै हो त ?,’ ढकालको प्रश्न गर्नुभयो । उहाँले कर्जा दिने बैंक, नियमन गर्नुपर्ने राष्ट्र बैंक दोषी नहुने तर ऋण लिएर लगानी गर्ने, रोजगारी दिने ब्यवसायी कसरी दोषी भए ? भन्दै आक्रोश पोख्नुभयो ।

‘उहाँले भन्नुभयो, ‘के ऋण लिने, रोजगारी दिने, कर तिर्नेहरु दोषी नै हुन त ? बैंकले ऋण दिए, हामीले लिएर लगानी गर्यौं । राष्ट्र बैंकले उतिबेला किन नहेरेको ? सबै दोष हाम्रो मात्रै हो र ? केही न केही दोष त सबैको छ ।’ उहाँले सबै दोष निजि क्षेत्रलाई मात्रै दिँदा देश दुर्घटनामा जाने चेतावनीसमेत दिनुभयो ।
ब्यवसायीहरुले बर्सौ लगाएर खडा गरेको ब्यवसाय मास्ने काम नगर्न पनि ढकालले आग्रह गर्नुभएको छ । निजि क्षेत्रका मागहरुलाई देशकै माग हुन भनेर बुझ्न् पनि उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष ढकालले महासंघको बिधान संशोधनको काम सुरु भएको जानकारी पनि दिनुभयो । कार्यक्रममा महासंघका बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकर र राष्ट्र बैंकले ब्यवसायीहरुलाई दया गरिदिएको भनेर सोच्ने गरेको आरोप लगाउनु भएको थियो ।