काठमाडौं, साउन २४ । पूर्वगृहमन्त्री एवं राष्ट्रियसभा सदस्य बामदेव गौतमले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिन बाध्य हुने स्थिति आउने बताउनु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका निकै घनिष्ट मित्रमध्येमा पर्नुहुने गौतमले राष्ट्रियसभाको आजको बैठकमा बोल्दै यस्तो बताउनु भएको हो ।
एमालेको मागअनुसार उच्चस्तरीय छानबिन समिति गठन गर्ने हो भने प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीमाथि पनि छानबिन हुन सक्ने भन्दै राजीनामा गर्ने अवस्था आउने बताउनु भएको हो । ‘त्यस (उच्चस्तरीय छानबिन समिति) को निर्माण गर्नेबित्तिकै कार्यादेश हुन्छ, कार्यक्षेत्र हुन्छ, कहाँसम्म प्रवेश गर्ने भन्ने हुन्छ । त्यो प्रधानमन्त्रीसम्म प्रवेश गर्छ, अर्थमन्त्रीसम्म पनि प्रवेश गर्छ, गृहमन्त्रीसम्म पनि प्रवेश गर्ने त्यसले अधिकार माग्दछ’, आफ्नो धारणा राख्दै गौतमले भन्नुभयो ।
उहाँले प्रधानमन्त्री र मन्त्रीलाई निलम्बनको ब्यवस्था नभएकोले राजीनामा नै दिने अवस्था आउने बताउनु भयो । ‘हाम्रोमा निलम्बन गर्ने व्यवस्था त छैन । प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने हुन्छ, राजीनामा गरेपछि अर्को प्रधानमन्त्री निर्वाचित गर्ने प्रक्रिया सुरु हुन्छ, जसले यो छानबिन ओझेलमा पारिदिन्छ,’ गौतमको तर्क थियो ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्विन्टल सुन प्रकरणको छानबिनका लागि एमालेले उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बटमलाईन बनाएको छ । एमालेले गृहमन्त्री, अर्थमन्त्री र प्रधानमन्त्री कार्यालयमाथि नै आशंका रहेको भन्दै राजस्व अनुसन्धान बिभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मात्र अनुसन्धान गर्न नसक्ने दाबी गर्दै आएको छ । यी दुवै निकायले प्रधानमन्त्री र मन्त्रीलाई सोधपुछका लागि बोलाउने र बयान लिने काम गर्न नसक्ने भन्दै एमालेले उच्चस्तरीय छानविनको माग गरेको छ ।
एमालेको माग अनुसार उच्चस्तरीय छानबिन समिति गठन गर्ने हो भने अहिले भइरहेको छानबिन पनि प्रभावित हुने जिकिर पनि गौतमले गर्नुभयो । छानविन समति बनाएर प्रधानमन्त्री हटाउनु भन्दा अविश्वास प्रस्ताव ल्याएर प्रधानमन्त्री हटाउन उचित हुने उहाँको भनाई थियो । ‘त्यसरी प्रधानमन्त्रीलाई हटाउने हो भने सिधै अविश्वास प्रस्ताव लगे भइहाल्यो,’ गौतमले भन्नुभयो ।
गौतमले उच्चस्तरीय छानविन समिति बनाए पनि कार्यक्षेत्र तोकेर प्रधानमन्त्रीमाथि छानबिन नगर्ने गरी बनाउनुपर्ने बताउनु भयो । ‘पहिले नै प्रधानमन्त्रीसम्म छानबिन हुन सक्छ भन्ने वित्तिकै प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ । तर त्यसबाट जोगिएर त्यो ठाउँमा नपुग्ने गरी छानबिन समिति बनाउनु पर्छ,’ गौतमले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्