जनता टाइम्स

२४ श्रावण २०८०, बुधबार १९:३३

नवौं राष्ट्रिय खेलकुदको खर्च विवरण सार्वजनिक


काठमाडौं, २४ साउन । गत वर्ष असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुदको खर्च सार्वजनिक भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले खेलभएको १० महिनापछि आज एक कार्यक्रमबीच खर्च विवरण सार्वजनिक गरेको हो ।

नवौं राष्ट्रिय खेलकुद सञ्चालनका लागि ५३ करोड ७९ लाख ४ हजार २३९ रुपैयाँ खर्च भएको राखेपले जनाएको छ । जसमा २१ वटा उपशीर्षकमा खर्च विवरण प्रस्तुत गरिएको छ । खेलाडीले पाउनुपर्ने रकम भुक्तानी वैशाखमा भइसकेको राखेपले जनाएको छ । यसपटक रकम सिँधै खेलाडीको खातामा जम्मा गरिएको सदस्यसचिव टंकलाल घिसिङले बताउनुभयो ।

८०० जना भन्दा बढीले स्वर्ण पदक पाएको र पदकको हिसाबले ३९७ स्वर्ण पदक भएपनि टिममा भएको खेलमा कुल ८४० खेलाडीको स्वर्ण पदकको रकम पठाइएको उहाँले बताउनुभयो । नवौं राष्ट्रिय खेलकुदको पुरस्कार खेलाडीले प्रतियोगिता आयोजना गरिएको ५ महिनापछि पुरस्कार रकम प्राप्त गर्नुभएको हो ।