काठमाडौं, साउन २५ । सरकारले सभामुखलाई जानकारी नै नदिई नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ गरेको छ । सांसद शर्मा पक्राउबारे सभामुख देवराज घिमिरेलाई जानकारी नभएको उहाँको सचिवालयले जनाएको छ।
बहालवाला सांसदलाई पक्राउ गर्नुअघि सभामुखसँग अनुमति लिने व्यवस्था भए पनि सांसद शर्मा पक्राउपरे सभामुख बेखबर हुनुभएको हो ।
नेपालको संविधानको धारा १०३ मा संघीय संसदको कुनै पनि सदस्यलाई अधिवेशन बोलाइएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ गरिने छैन। तर कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई संघीय कानून बमोजिम पक्राउ गर्न यस उपधाराले बाधा पुर्याएको मानिने छैन। त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनु पर्नेछ भन्ने व्यवस्था छ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले बिहीबार सांसद शर्मालाई संसद चलिरहेकै बेला सभामुखलाई जानकारी नदिई पक्राउ गरेको हो। शैक्षिक प्रमाणपत्र नक्कली रहेको आशंकमा व्युरोको टोलीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।
यो घटनाले सुन तस्करी प्रकरणलाई लिएर शर्माले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा मागेकै आधारमा बदला लिइएको आरोपलाई सहयोग पुगेको छ । संसद चलेको बेला सभामुखको जानकारीबिना सांसद पक्राउ गर्न पाइदैन ।













प्रतिक्रिया दिनुहोस्