काठमाडौं, २६ साउन । जिल्ला अदालत, काठमाडौंको आदेशपछि नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मा रिहा हुनुभएको छ । शैक्षिक प्रमाणपत्र किर्तेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सांसद शर्मालाई बिहीबार बिहान पक्राउ गरेको थियो ।
उहाँलाई थुनामा राखेर अनुसन्धान गर्न माग गर्दै प्रहरीले शुक्रबार जिल्ला अदालत, काठमाडौंमा उपस्थित गएको थियो । तर न्यायाधीश दण्डपाणि शर्माको एकल इजलासले शर्मालाई थुनामुक्त गरेर अनुसन्धान गर्न आदेश दियो । अदालतको आदेशपछि थुनामुक्त भएका सांसद शर्माले प्रधानमन्त्रीको आलोचना गर्नुृभएको छ । प्रधानमन्त्रीकै निर्देशनमा आफूलाई पक्राउ गरिएको भन्दै उहाँले भने, ‘त्यतिसारो बैगुनी हुनुहुँदैन ।’ आफूसहित कृष्ण सिटौला, डा. शेखर कोइराला, कृष्णसेन इच्छुक लगायतका मानिसहरु नभएको भए प्रचण्ड अहिले पनि जंगलमै हुने भन्दै उहाँले भन्नुभयो, ‘पहिलो वार्ता गराउने हामी हों ।
टेलिफोन नम्बर कति हो उहाँले बिर्सनुभयो होला, मलाई अहिले पनि याद छ ।’ ‘हामीले लगाएको गुनको पैंचो उहाँले हत्कडी लगाएर दिनुभएको छ । उहाँलाई विशेष धन्यवाद भन्न चाहन्छु । यो पावरको उन्माद हो’, उहाँले भन्नुभयो । उहाँले पार्टीका नेताहरुलाई माओवादीसँगको गठबन्धनबारे पुनर्विचार गर्न समेत आग्रह गर्नुभएको छ । सांसद शर्माले अघि भन्नुभयो, ‘यसरी नै गृहमन्त्रीले हाम्रो मान्छेहरुलाई एकपछि एक गरेर धुलो चटाउँदै जाने र हामीले गठबन्धन गर्ने हो भने हाम्रो पार्टी सकिनेवाला छ ।’













प्रतिक्रिया दिनुहोस्