काठमाडौं, साउन २७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पाकिस्तानी मोडेलको राजनीति शुरु गरेको भन्दै यसको अन्त्य यहाँ नहुने बताउनु भएको छ ।
गुरु प्रसाद लुइँटेल अध्ययन तथा विकास केन्द्रले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।
अध्यक्ष ओलीले कांग्रेस सांसद डा. सुनिल शर्माको गिरफ्तारी पाकिस्तानी मोडेलको राजनीतिको पछिल्लो रूप देखिएको बताउनु भयो ।
‘मैले हिजो प्रधानमन्त्रीलाई पनि भनेको छु, तपार्ईहरूले पाकिस्तानी मोडेलको राजनीति शुरु गर्नुभयो, यसको अन्त्य यहाँ हुँदैन । धेरै नहौसिनोस भनेर मैले भनेको छु,’ ओलीले भन्नुभयो, ‘सुन तस्करीको विरोध गर्दा सुनिल शर्माले स्कुल पढ्दाको कुरा उठाएर गिरफ्तार गरिएको छ । यो भन्दा नांगो नाच के हुन सक्छ ?
अध्यक्ष ओलीले सुनिल शर्माको गिरफ्तारी सामान्य घटना नभएको भन्दै विरोधमा बोल्नेलाई हत्कडी लगाउने राजनीति प्रचण्ड र नारायणकाजी श्रेष्ठले शुरु गरेको बताउनु भयो । उहाँले यो शुरुआत मात्र भएको भन्दै यसले गम्भीर मोड लिन बाँकी रहेको समेत बताउनु भयो ।
‘सुनिल शर्माले के गरेका थिए ? सुन तस्करीको उच्चस्तरीय छानबिन होस, गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्छ भन्दा हत्कडी लिएर उनको घरमा पुलिस पठाइयो,’ ओलीले थप्नुभयो, ‘यो के हो भने, हाम्रो विरोधमा कोही बोल्छ भने सुनिल शर्मा बनाउँछौ भनेको हो ।’
स्कुल पढ्दा साथीको चिट चोरेको, प्रमाणपत्र केरमेट भएको जस्ता कुरा समेत उठाएर विरोधीलाई ठेगान लगाउने खेल प्रधानमन्त्री र गृहमन्त्रीबाट शुरु भएको ओलीको भनाई छ ।













प्रतिक्रिया दिनुहोस्