भक्तपुर, साउन २७ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सुन काण्डको विषयमा बोल्दा सरकारले सांसद सुनिल शर्मामाथि प्रतिशोध साँधेको बताउनु भएको छ ।
शनिबार भक्तपुर क्षेत्र नम्बर २ ले गरेको क्षेत्रीय सभामा नेता कोइरालाले आफ्नै दल सहभागी सरकार प्रतिसोध साँध्ने कामतिर लागेको भन्दै गम्भीर आपत्ति जनाउनु भयो । कोइरालाले राजनीतिमा प्रतिशोध राख्ने प्रवृत्ति भित्रिए त्यसले व्यक्ति, पार्टी र देशलाई समेत क्षति पुर्याउने बताउनु भयो ।
शर्माले कुनै गलत गरेको भए त्यसको छानबिन र कारबाही हुनुपर्ने तर खुलेआम प्रतिशोध राखेर कुनै कारबाही गर्न नमिल्ने कोइरालाको भनाई छ । नेता कोइरालाले सुन काण्ड बाहिरिएपछि बाँकी सबै काण्डहरू ओझेलमा पार्ने प्रयास भइरहेको भन्दै स्टण्टवाजी नगर्न चेतावनी दिनुभयो ।
‘सुन काण्डका विषयमा नेपाली कांग्रेसकै एक सांसदले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुभयो । उहाँका गल्ती कमजोरीहरू होलान, त्यसको छानबिन र कारबाही हुनुपर्छ । तर प्रतिसोधको भावनाले अघि बढ्ने हो भने हामीले देशलाई कहाँ पुर्याउन खोजिएको हो ? यो अहिले गम्भीर विषय हो जस्तो लागिरहेको छ,’ कोइरालाले भन्नुभयो, ‘राजनीतिमा जब प्रतिसोधको भावना सुरू हुन्छ तब राजनीति राजनीति नै रहन्नँ, त्यसले व्यक्तिलाई क्षति गर्छ, दलहरूलाई बिगार्छ र देशलाई पनि क्षति पुर्याउँछ ।’
उहाँले सरकारको कारण देश अराजकतातिर उन्मुख भइरहेको पनि बताउनु भयो । ‘अहिले हाम्रो देश अराजकतातिर गइरहेको छ । काण्डै–काण्डले देशलाई बिग्रहतिर धकेलिरहेको छ । त्यो काण्डहरूमा पछिल्लो काण्ड सुन काण्डले सबै काण्डहरुलाई बिर्साइदिएको जस्तो लागिरहेको छ,’ कोइरालाले भन्नुभयो, ‘भारतमा १३ सय देखि १४ सय टन सुन खपत हुने रहेछ । तर भारतले आयात भने ८ सयदेखि ९ सय टनमात्रै गर्छ । बाँकी ४ सयदेखि ५ सय टन सुन कहाँदेखि आइरहेको छ ? त्यतिका धेरै सुन अवैधरुपले कारोबार भइरहेको देखिन्छ । त्यसमा अधिकांश सुन नेपालबाटै गइरहेको भन्ने सुनिन्छ ।’
कोइरालाले राजस्व अनुसन्धान, सम्पत्ति शुद्धिकरण र अनुसन्धान विभाग प्रधानमन्त्रीले आफ्नो मातहतमा राखेर त्यसको लाभ उठाउने काम भइरहेको पनि बताउनु भयो ।
‘केपी ओलीजी प्रधानमन्त्री हुँदा उहाँले राजस्व विभाग, सम्पत्ति सुद्धिकरण विभाग र राष्ट्रिय अनुसन्धान प्रधानमन्त्रीले राख्नुहुँदैन भनेर आवाज उठ्यो । तर उहाँले सुन्नुभएन । पछि शेरबहादुरजी प्रधानमन्त्री हुनुभयो, उहाँले पनि त्यो कुरा सुन्नुभएन । अहिले प्रचण्डजीले पनि ती निकायलाई आफू मातहतमै राखेर चलाइरहनुभएको छ,’ कोइरालाले भन्नुभयो, ‘नवराज ढुंगानाजी तपाईंहरू चिन्नुहुन्छ, उहाँ अहिले राजस्व विभागको प्रमुख हो । तर सुन काण्ड हुनुभन्दा १० दिनअघि मात्रै उहाँलाई प्रधानमन्त्रीको सचिवालयबाट त्यहाँ पठाइएको हो, त्यतिञ्जेल उहाँ नै प्रधानमन्त्रीको स्वकीय सचिव हुनुहुन्थ्यो । उहाँलाई सचिवालयबाट प्रधानमन्त्रीकै मातहतमा रहेको राजस्व विभागमा किन पठाइयो ? तपाईहरू आफैं जान्नुस ।’













प्रतिक्रिया दिनुहोस्