जनता टाइम्स

३१ श्रावण २०८०, बुधबार ०९:४०

माधव नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान गर्न अदालतले आदेश दिनु आश्चर्यजनक : प्रधानमन्त्री


काठमाडौं, साउन ३१ । प्रधानमन्त्री पुष्पकमल दाहालले ललिता निवास जग्गा प्रकरणमा सर्वोच्च अदालतको आदेशप्रति आश्चर्य प्रकट गर्नुभएको छ ।

सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई समेत अनुसन्धानको दायरामा ल्याउन आदेश दिएपछि उहाँले आश्चर्य प्रकट गर्नुभएको हो ।

मंगलबार केही सम्पादकहरूसँग अन्तर्क्रिया गर्दै प्रधानमन्त्री दाहालले अनुसन्धान प्रक्रियाबाटै सरकारले त्यस ठाउँमा पुग्ने तयारी गरिरहेको बताउनु भयो । ‘ललिता निवास जग्गा प्रकरणमा हामीले गहन ढंगले अनुसन्धान र कारबाही थालेकै थियौं। कुनै न कुनैरूपले हामी पूर्वप्रधानमन्त्रीद्वयसम्म पनि पुग्थ्यौं नै। तर अदालतले यो कुरा बीचमै किन ल्यायो बुझ्न सकेको छैन,’ प्रधानमन्त्री दाहालले भन्नुभयो ।

अदालतको आदेशपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पूर्वप्रधानमन्त्रीद्वयलाई बयान लिने तयारीसमेत गरेको छ। व्युरोले सोमबार पूर्व मुख्यसचिव लीलामणि पौडेलसँग बयान लिएको थियो।