जनता टाइम्स

१ भाद्र २०८०, शुक्रबार ०९:५४

सुन तस्करी प्रकरणलाई अन्तै मोडन सरकारी कारखानामा समाचार बनाएर मेरो परिवारको चरित्रहत्या गरियो : इश्वर पोखरेल


काठमाडौं, भदौ १ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा भन्नेसँग आफ्नो परिवारलाई जोडेर सरकारी कारखानामा तयार पारिएको समाचार प्रकाशन गरिएको भन्दै कानूनी कारबाहीमा जाने चेतावनी दिनुभएको छ ।

पोखरेलले शुक्रबार वक्तव्य जारी गर्दै पत्रकारिताको सामान्य मर्यादा पनि नराखी एक अनलाइन सञ्चारमध्यमले नियोजितरूपमा आफ्नो परिवारलाई जोडेर शतप्रतिशत झुटो समाचार प्रकाशन गरेको भन्दै आपत्ति जनाउनु भएको हो ।

पोखरेलले वक्तव्यमा भन्नुभएको छ, ‘माओवादीको लगानी रहेको त्यस विवादित अनलाइनले सरकारी कारखानामा तयार पारिएको समाचार प्रकाशित गरेर मालिकको सेवा गरेको प्रष्टै छ । यो हाम्रो पार्टीलाई बदनाम गरी सुन तस्करी प्रकरणलाई अन्तै मोड्ने प्रपञ्च हो ।’

पोखरेलले आफ्नो परिवारको संलग्नता पुष्टि गर्न चुनौती दिँदै यस्ता कुराबाट भ्रमित नहुन आग्रह गर्नुभएको छ ।

पोखरेलको बिज्ञप्ती जस्ताको तस्तै

माओवादी नेताको लगानी रहेको नेपाल खबर नामक अनलाइनले पत्रकारिता पेशाको सामान्य मर्यादा पनि नराखी नियोजित रूपमा मेरो परिवारलाई जोडेर लेखेको शतप्रतिशत झुटो समाचारको म घोर निन्दा, भर्त्सना र खण्डन गर्न चाहन्छु । माओवादीका उपमहासचिवको लगानी रहेको र कतिपय लगानीकर्ताको लगानी समेत ठगी गरेको भनेर यसअघि नै विवादित त्यस अनलाइनले सरकारी कारखानामा तयार पारिएको समाचार प्रकाशित गरेर मालिकको सेवा गरेको प्रष्टै छ । यो हाम्रो पार्टीलाई बदनाम गरी सुन तस्करी प्रकरणलाई अन्तै मोड्ने प्रपञ्च हो । म चुनौतीका साथ भन्न चाहन्छु – मेरो परिवारको यस्ता कुनै कुरामा संलग्नता छैन । यस्ता कुराबाट भ्रमित नहुन म सबै शुभेच्छुक र पार्टी पंक्तिलाई आह्वान गर्दछु । यस सम्बन्धमा आज कानुनी कारबाही पनि अगाडि बढाउने सबैमा जानकारी गराउन चाहन्छु ।