बारा, ३ भदौ । बारा पचरौता नगरपालिकाकी उपप्रमुख नसिमा खातुनको घरमा शनिवार राति एक समूहले आक्रमण गरेको छ । बैरियास्थित घरमा करिब ८ बजे आएको एक समूहले उपप्रमुख खातुन, उहाँका पति नेवाजी अंसारीसहित परिवारमाथी आक्रमण गर्नुभएको हो । आक्रमणबाट उपप्रमुख खातुन, उहाँका पति अंसारीसहित परिवारका सदस्य घाइते भएका छन् । घाईतेको गण्डकस्थित न्युरो अस्पताल र कलैयास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
घरमा बसिरहेका बेला पचरौता नगरपालिका–२ का वडाध्यक्ष मनोज यादवसहित जसपाका कार्यकर्ताले उपप्रमुख र परिवारका सदस्यमाथि आक्रमण गरेको स्थानीयले बताउनुभएको छ । आक्रमणसँगै उक्त समूहले उपप्रमुखको घरमा लुटपाट समेत गरेको स्थानीयले बताउनुभएको छ । घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उपप्रमुखको घरमा पुगेका थिए । प्रहरी घटनास्थल पुग्दा घरका दराज, बाक्सा र सामान फालिएको अवस्थामा थियो । उक्त समूहले यसअघि पनि उपप्रमुखको घरमा आक्रमण गर्दै आएको र प्रहरीमा उजुरी दिँदा दर्ता नगरिएको स्थानीयको भनाइ छ ।
बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले घटनाबारे आफूले पनि जानकारी पाएको र प्रहरी परिचालन गरिएको बताउनुभयो । पुरानो विषयलाई लिएर जसपाका कार्यकर्ताले उपप्रमुखको घरमा गएर कुटपिट गर्दा दोहोरो झडप भएको र झडपका क्रममा दुवै पक्ष घाईते भएको जानकारी आफूले पाएको प्रहरी उपरीक्षक बोगटीको भनाई छ । प्रहरी उपरीक्षक बोगटीले घटनास्थलको स्थिती अहिले सामान्य रहेको र दुवै पक्षका घाइतेको उपचार भइरहेको बताउनुभयो । बोगटीले थप झडप हुन नदिन प्रहरी परिचालन गरिएको र घटनाको विषयमा आफूले बुझिरहेको बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्