जनता टाइम्स

५ भाद्र २०८०, मंगलवार १६:५५

ओली अनुपस्थित भएपछि शीर्षनेताको बैठक स्थगन, टुंगिएन छानबिन समितिको मस्यौदा


काठमाडौं, ५ भदौ । राष्ट्रिय दल मान्यताप्राप्त पार्टीका शीर्षनेताहरुको बैठक स्थगन भएको छ । प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि शीर्षनेताहरुको बैठक स्थगन भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजका लागि बोलाएको उक्त बैठक बस्दै नबसी स्थगित गरिएको हो ।

बैठक नबसेसँगै सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समितिको विषयमा मस्यौदाले अन्तिम रुप पाउन सकेन । एमालेको मागअनुसार उच्चस्तरीय समिति गठन गर्न दलहरु सहमत भएका थिए । सोही सहमतिअनुसार आज समितिको मस्यौदालाई अन्तिम रुप दिने तयारी थियो ।

सिंहदरबारमा अरु नेता बैठकमा सहभागी हुन पुगे पनि ओली भने जानुभएन । उहाँ बिरामी भएकाले बैठक उपस्थित हुन नसकेपछि अरु नेताहरु बैठकै नबसी हिँड्नुभएको थियो । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने मागसहित एमालेले गत १० साउनदेखि लगातार संसद अवरोध गर्दै आएको छ ।

संसदको अवरोध खुलाउन भन्दै सोमबार बसेको सर्वदलीय बैठकले छानबिन समिति बनाउने निर्णय गर्दै एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङ, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे सम्मिलित तीन सदस्यीय मस्यौदा समिति गठन गरेको थियो ।