काठमाडौं, भदौ ११ । प्रतिनिधि सभा अन्तर्गतका सबै १० वटै बिषयगत समितिका सभापति निर्विरोध निर्वाचित भएका छन ।आज सम्पन्न समितिका सभापतिको निर्वाचनमा सवै जना सर्वसम्मत रूपमा सभापति चयन भएका हुन ।
प्रतिनिधि सभा अन्तर्गतका १० वटै बिषयगत समितिका सभापति पदका लागि आइतबार मनोनयन दर्ता भएको थियो । आइतबार ९ वटा समितिको सभापतिमा एकल उम्मेदवारी परेको थियो भने एउटा समितिमा दुई जनाले मनोनयन गरेका थिए ।
प्रतिनिधिसभाअन्तर्गतका १० समितिको नेतृत्वका लागि आइतबार ९ वटामा एकल र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि दुई जनाको उम्मेदवारी परेको थियो । सो समितिको सभापतिमा उम्मेदवारी दिनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि सबै सभापति निर्विरोध भएको छ ।
नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी लगायतका दलले भागबण्डा गरी १० वटा समितिका सभापतिमध्ये कांग्रेसले तीन, एमालेले दुई, माओवादी केन्द्र, राप्रपा, जसपा, एकीकृत समाजवादी र जनमत पार्टीले एक–एक समितिका सभापतिमा उम्मेदवारी दर्ता गराएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि उम्मेदवारी दर्ता गराएको थियो । सो पार्टीका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि सो समितिमा जनमत पार्टीका अब्दुल खान निर्विरोध निर्वाचित हुनुभएको छ ।
यसैगरी अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे निर्विरोध हुनुभएको छ । कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा कांग्रेसकी डा. आरजु देउवा निर्विरोध हुनुभएको छ भने राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाली कांग्रेसका रामहरि खतिवडा निर्बिरोध सभापति चयन हुनुभएको छ ।
यसैगरी सार्वजनिक लेखा समितिमा एमालेका ऋषिकेश पोखरेल र महिला तथा सामाजिक मामिला समितिमा एमालेका किरणकुमार साह निर्विरोध सभापति चयन हुनुभएको छ । कानुन, न्याय तथा मानवअधिकार समितिमा माओवादी केन्द्रकी विमला सुवेदी निर्विरोध निर्वाचित हुनुभएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जसपाका राजकिशोर यादव निर्विरोध हुनुभएको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा एकीकृत समाजवादीका भानुभक्त जोशी र पूर्वाधार विकास समिति सभापतिमा राप्रपाका दीपकबहादुर सिंह निर्वाचित हुनुभएको छ ।
यसअघि सत्तारूढ दल र प्रमुख प्रतिपक्षबिच माओवादीलाई दुईवटा समितिको सभापति दिने सहमति भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपालाई समितिको सभापति भाग लगाइएको थिएन । तर मनोनयन दर्ता गर्नुभन्दा केही अघि कोशी प्रदेश सरकामा राप्रपाको समर्थन पाउने आसमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पार्टीको भागमा आएको एक सभापति पद राप्रपाका दीपकबहादुर सिंहलाई दिनुभएको थियो ।
बिषयगत समितिको नेतृत्व चौथो ठूलो दल भए पनि रास्वपा बञ्चित भएको छ ।













प्रतिक्रिया दिनुहोस्