काठमाडौं, भदौ ११ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टहरुले हामीलाई उल्टै थर्काउने ? भन्दै सरकार र सत्ता गठबन्धनलाई कडा चुनौती दिनुभएको छ ।
काठमाडौंमा आयोजित जनप्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले यस्तो चुनौती दिनुभएको हो । उहाँले आफ्नो नाम जोडेर आएका सबै काण्डहरुको छानबिन गर्न पनि सरकारलाई चुनौती दिनुभएको छ । उहाँले एमाले कमिसनको पछि कुद्ने पार्टी नभएको पनि प्रष्ट पार्नुभयो ।
‘यति यति भनेर कति कराइरहेका छौं ? गरत छानविन, वाइडबडी छानविन गरन, जाउ आफैं जेलमा,’ ओलीले भन्नुभयो, ‘वाइडबडी छानविन गर जेल जाऊ ।’ उहाँले ललितानिवास प्रकरणमा सत्ता गठबन्धनले मुख्य दोषी जोगाएर निमुखालाई फसाएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘अस्तिसम्म ललिता निवास भन्दैथे । अहिले कस्तो भागाभाग छ । कोही यताको ढोकाबाट कोही उताको ढोकाबाट । हामीलाई भन्दैथे त ललिता निवास भनेर, अहिले एउटा एताबाट गुटुटु कुद्छ अर्को उताबाट कुद्छ । गर न छानबिन ।’
ओलील झापाको गिरीबन्धु टीस्टेटको बिषयमा पनि मुख खाुल्नुभयो । ‘अहिले चिया बगान निस्किएको छ, गर न छानबिन । बिना कानून ५३ सालमा १९ बिघा जमिन बेच्न दिएको थियो । कमिसन आएर त्यसको छानविन गर । ६० सालमा ५१ बिघा जमिन बिनाकानून बेच्न दिएको थियो कमिसन खाएर, छानबिन गर जेल जाऊ,’ ओलीले भन्नुभयो, ‘हामी भन्छौं कानून बनाइदिएको हौं । गैरकानूनी ढंगले कमिसन आएर होइन । नत्र त कमिसन आइरहने भए । कानून बनाएर कानून संम्वत् ढंगले गर्नु भनेर नियम बनाइदिएको छ हामीले । कमिसन खाएको छैन ।’
उहाँले चिया बगानको प्रकरणमा बदमासी रोक्न कानून बनाएको बताउनु भयो । ‘कानून बनाउँदा कसैले कमिसन खान्छ ? कारोबार गर्दा खाला नि ? एमाले कमिसनका पछाडि कुद्ने पार्टी होइन । महान उद्देश्यका पछाडि हिँड्ने पार्टी हो । ओम्नी अरे मैले पत्रिका पढेर थाहा पाएको के हो ? ओम्नी ? मैले देखेको पनि छैन । सुनेको मात्रै हो । गर न छानविन ओम्नी के हो ? भ्रष्टहरुको यत्रो हुइयाँ । भ्रष्टहरुले हामीलाई उल्टै थर्काउने ,’ ओलीको भनाई थियो ।















प्रतिक्रिया दिनुहोस्