जनता टाइम्स

१२ भाद्र २०८०, मंगलवार १३:३८

प्रधानमन्त्रीले संसदमै सफेद झुट बोलेपछि


काठमाडौं, भदौ १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमै सफेद झुट बोल्नुभएको छ । प्रधानमन्त्री दाहालले ललिता निवास जग्गा हिनामिनादेखि नक्कली भुटानी शरणार्थी प्रकरण र सुन तस्करी प्रकरणमा दोषी बचाउने काम नभएको भन्दै सफेद झुट बोल्नुभएको हो ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रममा सांसद असिम शाहले गरेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले कुनै भ्रष्टाचार र अनियमिततामाथिको छानबिनका क्रममा दोषीलाई उन्मुक्ति दिने काम नभएको जिकिर गर्नुभयो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले दोषी किटान गरी प्रतिवेदन बुझाए पनि सरकारको दवावमा माओवादी नेता कृष्णबहादुर महरा र उहाँका छोरा राहुललाई प्रतिवादी नबनाई मुद्धा दायर गरिएको छ । आफ्ना पार्टीका नेतालाई जोगाएको तथ्य स्थापित भइसक्दा पनि प्रधानमन्त्रीले कसैलाई जोगाउने काम नगरेको भन्दै संसदमै ढाँटनुभएको हो । उहाँको यो भनाई आउँदा सांसदहरुले खिल्ली उडाएका दृष्य अनुहारमै प्रष्ट देखिएको थियो ।

प्रधानमन्त्री नै दोषी देखिए पनि कारबाहीको दायरा ल्याउनुपर्ने आफूले प्रहरीलाई बताएको उहाँले जानकारी दिनुभयो । नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा लगायतका प्रकरणमाथि भइरहेको छानबिन र कारबाही प्रक्रियाले जनतामा उत्साह बढाएको पनि प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।