जनता टाइम्स

१३ भाद्र २०८०, बुधबार १९:४८

प्रचण्ड–माधवको मुखुण्डो उध्रियो : ५ वर्षमा सक्नेगरी कार्यान्वयनमा गयो एमसीसी


काठमाडौं, भदौ १३ । अमेरिकी सहायता नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना कार्यान्वयन (इन्ट्री इन्टु फोर्स –ईआईएफ) मा प्रवेश गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका उपाध्यक्ष क्यामरुन एलफोर्डले ईआईएफ आदानप्रदान गरेपश्चात परियोजना कार्यान्वयन सुरु भएको हो ।

यो कामसँगै प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको दोहोरो चरित्र उदांगो भएको छ । नेपाली जनतालाई एमसीसीबिरुद्ध भडकाएर प्रचण्ड नेतृत्वकै सरकारले यसलाई कार्यान्वयनको चरणमा लगेको हो ।

नेपाली जनतासामू एउटा कुरा र अमेरिकासामू अर्कै कुरा गरेपछि एमसीसी ईआईएफका लागि उपाध्यक्ष क्यामरुन एलफोर्ड मंगलबार नेपाल आइपुग्नु भएको थियो । अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा सम्झौता आदान प्रदानपश्चात पाँच वर्षे अवधिको सम्झौता सुरु भएको हो । सम्झौताअनुसार ‘इन्ट्री इन्टु फोर्स’ अर्थात् कार्यान्वयनमा गएको ५ वर्षमा (२०८५ भदौ १३ भित्र) परियोजना सक्नुपर्ने हुन्छ । आयोजना कार्यान्वयनका लागि गठित एमसीए–नेपालअन्तर्गत विद्युत् प्रसारण लाइन र सडक निर्माणसम्बन्धी आयोजना सञ्चालन हुनेछन् । तोकिएको समयमा परियोजना पूरा नभए नेपालले एमसीसीमार्फत रकम प्राप्त नगर्ने सर्त रहेको उल्लेख छ ।

विद्युत् प्रसारण लाइन आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्ने, विद्युत् नियमन आयोग ऐन लागू गर्ने, कार्यक्रम कार्यान्वयनको सम्झौतामा हस्ताक्षर गर्ने, अन्तर्राष्ट्रिय प्रसारण लाइनका लागि नेपाल सरकार तथा भारत सरकारबीच कार्यसञ्चालन कार्ययोजना र प्रसारण लाइनसम्बन्धी सम्झौता गर्ने, प्रतिनिधिसभाबाट सम्झौता अनुमोदन तथा आयोजना निर्माणस्थलमा पहुँचका लागि जग्गा प्राप्ति र रूख कटानी सम्पन्न गर्नुपर्ने सर्त छन ।

प्रधानमन्त्री दाहाल र नेपालसहितका नेताहरुले एमसीसीको ब्याख्यात्मक टिप्पणीलगायतका अनेक बखेडा झिेकेर नेपालमा अराजकता मच्चाउने काम गरे पनि आफैले कार्यान्वयनमा लैजानुभएको हो । उहाँहरुले संसदमा पनि एमसीसीकै पक्षमा मतदान गर्नुभएको थियो । सरकारका लागि जे काम पनि गर्ने नीतिअनुसार सुरुमा आफैले चर्काे बिरोध गरेको एमसीसीको पक्षमा दुवै उभिनुभएको हो ।