पोखरा, भदौ १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा माधव नेपाललाई औपचारिक रुपमा नै चोख्याइएको घोषणा गर्नुभएको छ ।
आफ्नो सरकारको पालामा माधव नेपालको चिन्ता दूर गर्न सिआइवीलाई अनुसन्धान गर्न लगाएर औपचारिक रुपमा नै निर्दोष साबित गरिएको प्रधानमन्त्री दाहालले घोषणा गर्नुभएको हो । प्रधानमन्त्री दाहालकै निर्देशनमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले ललिता निवासको जग्गा हिनामिनाको फायल खोली निर्णयकर्ता तात्कालिन प्रधानमन्त्रीद्वय माधव नेपाल, डा. बाबुराम भट्टराई र मुख्यसचिव लिलामणि पौडेललाई प्रतिवादी नबनाउन सिफरिश गराएर टिप्पणी उठाएर आदेश पालना गर्ने कर्मचारीलाई फसाइएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले अघि बढाएको ललिता निवासको छानविनमा माधव–बाबुराम र लिलामणि तानिएपछि प्रधानमन्त्री दाहाललेअ ाफ्नो पालामा सत्ताको चरम दुरुपयोग गरी मुख्य निर्णयकर्तालाई चोख्याउने काम गर्नुभएको आरोप लागेको छ ।प्रधानमन्त्री दाहालले दोषी जोगाउने काम गरेको आरोप लागिरहेको बेला पोखरामा आज आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उहाँले माधव निर्दाेष साविक भएको घोषणा गर्नुभएको हो ।
उहाँले सिआइबीको अनुसन्धानपछि अब पहिलो पटक माधव नेपाल औपचारिक रुपमा निर्दोष साबित भएको फैसला सुनाउनु भयो । प्रचण्डले माधव नेपाललाई मात्र नभएर आफूलाई समेत यो टेन्सनको विषय रहेको भन्दै अब त्यो टेन्सन सकिएको बताउनु भयो । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बेला आफू र माधव एउटै मोर्चामा रहेको भन्दै प्रधानमन्त्री दाहालले त्यसबेला कतै षड्यन्त्र हुने हो कि भन्ने डर लागेकोले भाँडभैलो मच्चाएको स्वीकारोक्ति पनि गर्नुभयो ।
ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरुलाई अनुसन्धान गर्नु भनेर सर्बोच्च अदालतले दिएको आदेश कार्यान्वयन नभएको र सिआईबीको अनुसन्धानका आधारमा सरकारी वकिलले मुद्दा अघि बढाएका बेला प्रधानमन्त्रीले दोषी र निर्दोष आफै घोषणा गर्नुभएको छ ।
माधव नेपालबारे यस्तो छ प्रधानमन्त्रीको भनाई
माधवजी पनि यहाँ हुनुहुन्छ । उहाँको बारेमा पनि धेरै प्रश्नहरु के हो ? कसो हो भनेर बोलिनै राखिएको छ । पहिलो चोटी अहिले उहाँ निर्दोष हो भन्ने साबित भएको छ । तपाईंहरु विचार गर्नुहोला, औपचारिक रुपमा साबित भयो । अब प्रश्न गर्ने ठाउँ रहेन किनभने सिआईबीले उहाँको पनि के हो कुरा भनेर बयान त लियो । बयान लिएर निर्दोष साबित गरेर बयान लिनु नपर्ने लिखित रुपमै दिएपछि सधैंको टेन्सन खत्तम भयो ।
माधवजीलाई मात्रै टेन्सन भए त हुन्थ्यो, त्यो टेन्सन मलाई पनि । त्यो टेन्सन केपी ओली प्रधानमन्त्री हुँदा पनि मलाई थियो । हामी त एउटै मोर्चामा थियौं । कहीँ न कहीँ षड्यन्त्र हुने हो कि भन्ने आशंका थियो । अब त्यो स्थिति रहेन । दोषी गइरहेका छन, निर्दोष निर्दोष साबित भएका छन । म तपाईंहरुले के विश्वास दिलाउँछु भने यो अभियान रोकिँदैन । मैले प्रधानमन्त्री हुँदा सुरुमा यो १५ दिने हुने हो कि एक महिने भन्ने लागेको थियो । गर्दै जाँदा आठ महिना हुन लाग्यो, गर्दै जाँदा वर्ष बित्छ जस्तो पनि देख्छु मैले । यो गठबन्धन त पाँचै वर्ष जान्छ । प्रधानमन्त्री हेरफेर भएपनि यो एउटा महाअभियान चल्ने देखेको छु । तपाईंहरु ढुक्कसँग अघि बढ्नुस । सरकार दृढताको साथ यो लडाईंलाई निष्कर्षमा पुर्याउँछ ।













प्रतिक्रिया दिनुहोस्