काठमाडौं, भदौ १७ । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सरकारले उन्मुक्ति दिएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू निकट सम्पादकहरुसँग झण्डै चार घण्टा खुसियाली साटनु भएको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले शनिवार पार्टी केन्द्रीय कमिटी सदस्यसमेत रहनुभएका समाजवादी प्रेस संगठनका संस्थापक अध्यक्ष शंभु श्रेष्ठबाहेक पार्टी निकट सम्पादक र आफूलाई सहयोग गर्ने सम्पादकहरुको गोप्य भेला बोलाउनु भएको हो ।
भेलामा अध्यक्ष नेपालले उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडालाई समेत निषेध गर्नुभएको थियो । नयाँ बानेश्वरको आनन्दभूमि ब्यांक्वेटमा भएको गोप्य भेलामा कुनै पनि बिषयमा समाचार नलेख्ने बाचा कबोल गराइएको थियो । शनिवार ५ बजेबाट बोलाइएको सो भेला राती १० बजेसम्म पुगेको सहभागी एक पत्रकारले जनताटाइम्स डटकमलाई बताए ।
ती सम्पादकका अनुसार माधवले कुराकानीको सुरुमै केही नलेख्ने है भन्नेबाट अघि बढाउनु भएको थियो भने सम्पादकहरुले कुनै कुरा नलेख्ने प्रतिवद्धता जनाएका थिए । भेलामा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष एवं अनलाइन खवरका सम्पादक शिव गाउँलेदेखि किरण नेपाल (भतिज) सम्मका दुई दर्जन बढी सहभागी हुनुहुन्थ्यो । भेलामा माधवले मुख्य गरी ललिता निवासबाट जोगिएकोमा खुसियाली र प्रधान शत्रु किटानी गर्ने बिषयमा सम्मानित नेता झलनाथ खनालले गरेको किचकिच भन्द दुःख पोख्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले माधवलाई जोगाउनकै लागि लिलिता निवासको फायल खोलिएको र सिआइवीको प्रतिवेदनमार्फत उन्मुक्ति दिइएको भन्दै निर्दोष करार गरेको भोलिपल्ट माधवले बानेश्वरमा भोज भतेरसहित आफू निकट सम्पादकहरुसँग खुसियाली साटने चाँजोपाँजो मिलाउनु भएको हो । सो क्रममा नेपालले सुरुमै ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणबाट आफू बाहिर निस्कन सफल भएको भन्दै मुस्कान दिनुभएको ती सम्पादकले बताए ।
सम्पादकहरुलाई ५ बजे बोलाएर आफू साढे ६ बजे आइपुग्नुभएका नेपालले कुराकानीको गर्दै भन्नुभयो, ‘ललिता निवासको जग्गा हिनामिना प्रकरणमा म दोषी छैन । प्रधानमन्त्रीले नै भनिसक्नु भयो । ललिता निवास प्रकरणमा केपी ओलीले पनि मलाई बोलाएर …कै सामु तपाई डराउनु पर्दैन भनेको हो । यो सत्य कुरा मैले तपाईहरुलाइृ भन्नैपर्छ ।’
सम्पादक भेलामा तीन घण्टा बिताउँदा माधवले केपी ओलीलाई कुनै अपशब्द प्रयोग नगरेको र ललिता निवास प्रकरणमा भनेको कुरा मात्रै स्मरण गरेको उनले बताए । ती सम्पादकका अनुसार ललिता निवास प्रकरणमा सिआइवीले प्रतिवादी बनाउन नपर्ने भनेर दिएको प्रतिवेदनपछि आफू सदाका लागि मुक्त भएको माधवले निश्कर्ष सुनाउनु भएको छ ।
यस्तै पार्टीभित्र सम्मानित नेता झलनाथ खनालले दुःख दिइरहेको खुलासा पनि नेपालले गर्नुभयो । पार्टीभित्र प्रधान शत्रु किटान गर्ने बिषय निकै जटिल मोडमा पुगेको र झलनाथले आफूबिरुद्ध षडयन्त्र गरिरहेको नेपालको दुखेसो थियो । ‘पार्टीभित्र प्रधान शत्रु कसलाई किटान गर्ने भन्नेमा अन्तरबिरोध निकै बढेको छ । तोक्नुपर्छ भन्ने आवाज उठेकै छ, अन्तरबिरोध कायम रहेकोले प्रधान शत्रु कसैलाई तोकेका छैनौं,’ नेपालको भनाई थियो ।
नेकपा एकीकृत समाजवादीमा सम्मानित नेता झलनाथ खनालले कांग्रेसलाई प्रधान शत्रु किटान गरेर जानुपर्ने अडान राख्नुभएको छ । नेपाल यो पक्षमा हुनुहुन्न । कांग्रेसकै कारण आफू जोगिएको र अहिलेको गठबन्धन बनेकोले प्रधान शत्रु होइन, मित्र शत्रु कांग्रेस हो भन्ने आफ्नो मान्यता पनि नेपालले सुनाउनु भएको अर्का सम्पादकले जनताटाइम्स डटकमलाई बताए ।
सम्पादकसँगको गोप्य छलफलमा माधवले एमालेकै सिद्धान्तलाई मानेर अन्तिमसम्म जाने बाचा पनि गर्नुभएको छ । ‘हाम्रो पार्टी अन्तिमसम्म जनताको बहुदलीय जनवादलाई नै मुल सिद्धान्त मानेर जान्छ, जवज नै मुल सिद्धान्त हो,’ माधवको भनाई थियो ।













प्रतिक्रिया दिनुहोस्