काठमाडौं, भदौ १९ । पहिलो पटक एसिया कप क्रिकेट खेलेको नेपाल आफ्नो दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित भए पनि नेपालले भारतविरुद्ध गरेको ब्याटिङको चौतर्फी प्रशंसा भएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले आसिफ शेखको ५८ रन र सोमपाल कामीको ४८ तथा कुशल भुर्तेलको ३८ रनको योगदानमा भारतविरुद्ध २३० रन बनाएको थियो । वर्षाले बारम्बार प्रभावित खेलमा भारतले डीएलएस मेथडमा २३ ओभरमा १४५ रनको नयाँ लक्ष्य पाएको थियो । उस्ले विना क्षती १४७ रन बनाएर खेल जित्यो ।
नेपालले खेल हारे पनि सवैको मन जितेको छ । खेलपछि नेपाली टिमले भारतीय टिमका खेलाडी प्रशिक्षकहरुसँग भेट गरे । त्यसक्रममा भारतीय टिमका खेलाडी र प्रशिक्षकले नेपाली टिमका खेलाडीलाई मेडल लगाइदिए ।
जितेको टिमले ड्रेसिङ रुममा गएर हारेको टिमलाई मेडल लगाइदिनुको खास कारण छ । भारतकै प्रशिक्षक मोन्टी देसाईले नेपाली टिमको जिम्मेवारी लिएसँगै उनले ह्याप्पी ड्रेसिङ रुमको माहोल सिर्जना गरेका छन् । त्यही अनुसार नेपालले खेलेको विभिन्न खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई मेडल लगाएर सम्मान गर्ने चलन मोन्टीले बसालेका थिए ।
सोही अनुसार भारत विरुद्धको खेलपछि पनि तीन नेपाली खेलाडीलाई मेडल दिइयो त्यो पनि भारतीय प्रशिक्षक र खेलाडीको हातबाट । भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका ओपनर ब्याट्सम्यान आसिफ शेख, अलराउण्डर सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीलाई मेडल दिइएको थियो । भारतका स्टार ब्याटर विराट कोहलीले आसिफलाई मेडल लगाइदिए । यस्तै अलराउण्डर हार्दिकले सोमपाल र प्रशिक्षक राहुल द्रविडले दीपेन्द्रलाई मेडल लगाइदिएका थिए ।
नेपालका प्रमुख प्रशिक्षक मोन्टी देसाइले सोमपाललाई स्टार अलराउण्ड र दीपेन्द्रलाई स्टार फिल्डरको रुपमा चिनाएका थिए । यो दृष्यले नेपाली खेलाडीमा मात्रै होइन सवै खेलप्रेमीमा नयाँ उत्साह थपेको थियो ।
प्रतिक्रिया दिनुहोस्